बुटवल,असार २० ।
लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिका –१०, कालिकानगरमा एस.डि.ए चर्च नेपालको नयां साख चर्चको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।
उद्घाटन समारोहमा एस.डि.ए चर्च लुम्बिनी प्रदेशका अध्यक्ष खेम विकको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख आतिथ्यका रूपमा एस.डि.ए चर्च नेपालका केन्द्रीय अध्यक्ष डा. सिलास दिन–दियालको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि दियालले रिबन काटी चर्चको औपचारिक उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा एस.डि.ए चर्च लुम्बिनी प्रदेश समितिका सदस्यहरू, बागमती प्रदेश प्रमुख पास्टर श्यामुएल शर्मा, स्थानिय विश्वासी, पत्रकार तथा अतिथिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै पास्टर श्यामुएल शर्माले उक्त साख चर्च अब आउने दिनमा बुटवलकै एक शक्तिशाली र प्रभावशाली चर्चको रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।
केन्द्रीय अध्यक्ष डा. दिन–दियालले बुटवल क्षेत्रमा विभिन्न चर्चहरू सक्रिय भए पनि एस.डि.ए चर्चको सेवा, सत्यको शिक्षा, र नेतृत्वको खांचो अझै रहेको बताउंदै, यो चर्चले सिंगोे समाज र सहरमा सुसमाचारको उज्यालो फैलाउने बताउनुभयो । साथै, उहांले चर्चलाई सबैको आशाको केन्द्र र छुटकाराको स्थल को रूपमा परिभाषित गर्नुभयो ।
चर्चको अगुवाइ मिसनरी रचना मोक्तान र ग्यानबहादुर मुक्तानले गर्नुहुनेछ भने सुसमाचार प्रचारमा प्रकाशचन्द्र घिमिरेको सहजकर्ता भूमिका रहने छ । कार्यक्रममा एल्डर श्याम घर्ती मगरले उक्त चर्चको स्थापना लामो समयदेखि गरिएको प्राथनाको प्रतिफल भएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)