नवलपुर ,असार १९ ।
नारायणघाट–बुटवल सडक खण्ड अन्तर्गत दुम्किवासस्थित विनयी खोलाको पुल बिहीबार विहानदेखि सञ्चालनमा आएको छ ।सडक आयोजना पूर्वी खण्डका प्रमुख इश्वर बहादुर रिजालले विहीबार विहान ११ बजेतिरबाट नयाँ पुलमा यातायात सञ्चालनमा आएको बताए ।
पुलको ढलान भएको करिब चार हप्तापछि पुल भएर नियमित रूपमा यातायात सञ्चालनमा आएको हो ।
चिनियाँ निर्माण कम्पनीका पूर्वी खण्डका प्रोजेक्टर म्यानेजर राकेश झाले पुल निर्माणको सबै काम सकिएपछि पुलबाट यातायात सञ्चालन गरिएको बताए ।
गत २६ पुस गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासको पुरानो फलामे पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको थियो । डाइभर्सन पनि खोलाले पटक पटक बगाएपछि यो मार्ग भएर यात्रा गर्न निक्कै कष्टकर भएको थियो ।
पछिल्लो पटक असार ७ गते विनयी खोलाले बस नै बगाएपछि नयाँ डाइभर्सन बनाइएको थिएन । जसका कारण साना तथा हलुवा सवारी साधन बैकल्पिक मार्गबाट ओहोरदोहोर गर्ने गरेका थिए भने ठूला तथा मालवाहक सवारी साधन भने बेलाबेलामा अस्थायी डाइभर्सन गराएर पास गराउने गरिएको थियो ।नयाँ पुल सञ्चालनमा आएसँग यात्रु तथा चालकहरुले राहत महशुष गरेका विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए ।
दुम्किवासको समस्या समाधान भए पनि दाउन्नेको झन्झट भने कायमै रहेको छ । सडक आयोजना पूर्वी खण्डका प्रमुख इश्वर बहादुर रिजालले अव दाउन्नेमा वर्खाअघि बाटो विस्तारको काम नहुने र मर्मत मात्र हुने भएकाले वर्खाभरी समस्या हुन सक्ने बताए ।
यहाँ हल्का पानी परेको बेला उकालोमा चिप्लिएर गाडी गुड्न नसक्ने र बाटोमा गाडी फस्ने गरेका भएकाले समस्या यथावत छ ।
पश्चिम नेपालको लाइफलाइन भनेर चिनिने बुटवल–नारायणगढ सडक खण्डको दाउन्ने क्षेत्रमा समयमै काम नहुँदा यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । अरू खण्डमा सहज यात्रा गर्न मिल्ने गरी काम भए पनि दाउन्ने खण्डको १३ किलोमिटर सडक अहिले अस्तव्यस्त छ ।
यसपालिको बर्खा र चाडपर्वमा पनि ढुक्कसँग यात्रा गर्ने माहोल दाउन्ने खण्डकै कारणले नहुने देखिएको छ। दाउन्ने क्षेत्रमै धेरै कल्भर्ट बनाउनुपर्ने भएकाले कामले गति लिन नसकेको आयोजना कार्यालयको भनाइ छ ।
पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगतको पूर्वी खण्डमा गैडाकोटको जयश्री, चोरमाराको गिरुवारी खोला र अरुणखोलाको अरुणखोलामा पुल निर्माण कार्य अझै बाँकी रहेको छ भने यहाँ पर्ने अन्य पुलहरु भने निर्माण कार्य सकिएको राकेश झाले बताए ।
त्यसैगरी चोरमारा बजार, दुम्किबास बजार र दाउन्ने खण्डमा अझै कालो पत्रे हुन बाँकी रहेको छ । साउन ८ गते तेस्रो पटकको सम्झौता अवधि सकिदै छ यो बीचमा अहिले सम्म बुटवल नारायणगढ सडक विस्तारको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)