बुटवल,असार १८ ।
रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा दीपक भट्टराई नेतृत्वको कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । क्लवको आईतबार साँझ बुटवलमा आयोजना गरिएको कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण सहित पदभार हस्तान्तरण गरिएको हो ।
क्लवमा रोटरी वर्ष २०२५।२६ का लागि भट्टराईको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको थियो । त्यस अवसरमा क्लवकी एसाईन एजी कमला हमालले नवनिर्वाचित अध्यक्ष भट्टराईलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो भने अध्यक्ष भट्टराईले कार्यसमितिका पदाधिकारी सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको विकासका लागि सबै मिलेर काम गर्नुपर्ने बताउँदै निजी क्षेत्र र सामाजिक संघसंस्थासंग मिलेर काम गर्न चाहेको भनाई राख्नुभयो ।
रोटरी डिष्ट्रिक एसिष्टेन्ट गभर्नर हमालले यो क्लवले धेरै राम्रो गरेको आफूले सुनेको बताउँदै क्लवको गतिविधिमा संगै हुन पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले यो वर्ष पनि क्लवले रचनात्मक काम गरेर उदाहरण प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी अर्का एसिस्टेन्ट गभर्नर सुमन गोपालाचार्यले पनि क्लवको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभयो ।
कार्यक्रममा क्लवका अध्यक्ष देवीराम पाण्डेले आफूले वर्षभरी गरेका कार्यक्रमहरुको फेयरिस्त प्रस्तुत गर्दै पुरा गर्न नसकेको कामलाई निरन्तरता दिन नयाँ कार्यसमितिलाई आग्रह गर्नुभयो । उहाँले आफू नयाँ कार्यसमितिको साथमै हुने भएकाले पूर्ण साथ सहयोग रहने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यसै गरी नवनिर्वाचित अध्यक्ष दीपक भट्टराईले कार्ययोजना प्रस्तुत गर्दै सोही अनुसार सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो । उहाँले विगतका कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ र रचनात्मक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस अवसरमा छिमेकी क्लवका अध्यक्ष तथा प्रतिनीधिहरुले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम उपाध्यक्ष देवीलाल भट्टराईको स्वागत तथा सचिव अर्जुन आचार्य र नवनिर्वाचित सचिव किशोर विकको सञ्चालनमा भएको थियो । कार्यक्रममा वर्षभरी सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)