भैरहवा,जेठ ३१।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित सिद्धार्थ बौद्ध गुम्बाको उद्घाटन गरिएको छ । सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले उक्त गुम्बाको उद्घाटन गर्नुभएको हो । वडा कार्यालयबाट २२ लाख र जनस्तरबाट ४० लाख ४३ हजार रुपैयाँको सहयोग गरी ६२ लाख ४३ हजार रुपैयाँमा गुम्बा निर्माण भएको हो ।
गुम्बा उद्घाटन कार्यक्रममा बोल्दै वडाअध्यक्ष यादवले बुद्धको सन्देशले समाजसँगै देशमा शान्ति र समृद्धि हुने बताउनुभयो । सरकारले कुने काम एक्लै नसके जनस्तरको सहयोग भए ठूलो काम गर्न सकिने उहाँले बताउनुभयो ।
सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता समेत रहनुभएका यादवले गुम्बाको लागि बाउण्ड्री वालमाथि तारबार, गेटसहितको अन्य आवश्यक भौतिक संरचनाहरु निर्माणका लागि वडा कार्यालयबाट आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गुम्बाको पहिलो तल्लामा शक्ति भिम कक्ष निर्माण गरिएको छ, जुन स्वर्गीय भिम थकालीको स्मृतिमा उहाँका श्रीमान् शक्तिप्रसाद थकालीद्वारा करिब २५ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको हो । उक्त सभा हलको उद्घाटन शक्तिप्रसादले गर्नुभएको हो ।
उक्त अवसरमा स्व. भिम थकाली र स्व. बास्मती गुरुङ्गप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । विशेष गरेर बास्मती गुरुङ्गको पहिलेदेखिको संकल्प, सहयोग र हिम्मतले आज गुम्बा निर्माण सम्भव भएको भन्दै उहाँको योगदानको स्मरणस्वरूप गुम्बा प्रांगणमा अर्धकदको शालिक स्थापना गरिने पनि घोषणा गरिएको छ ।
सिद्धार्थनगर नगरपालिका तथा ढाक्रे खेलकुद तथा साँस्कृतिक परिवारद्वारा ट्रससहित ब्याटमिन्टन कोर्ट निर्माणमा रु. ३ लाख ७९ हजार ५६५ रूपैयाँको योगदान गरिएको थियो । त्यस्तै फुलबारी सेवा समाजद्वारा करिब रु. ९ लाखको लागतमा पक्की भान्साघर निर्माण गरिएको हो ।
फूलबारी सेवा समाजका अध्यक्ष हुकुम गुरुङले बास्मती गुरुङको दीर्घकालीन संकल्प, सहयोग र हिम्मतका कारण गुम्बा निर्माण सम्भव भएको स्मरण गर्दै उहाँको योगदानको कदरस्वरूप गुम्बा प्राङ्गणमा अर्धकदको शालिक स्थापना गरिने घोषणा गरिएको बताउनुभयो । कार्यक्रममा सहयोगी दाताहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)