बुटवल,जेठ २४ ।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद बुटवल उपमहानगर समितिको आयोजनामा बुटवलमा सञ्चालित ७ दिने मादल बजाउने तालिम सम्पन्न भएको छ।
बुटवलस्थित बेसक्याम्प गुम्बामा गुरुङ समुदायहरुमा मादल बजाउने संस्कृतिको निरन्तरताका लागि सञ्चालन गरिएको तालिमको समापन तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद प्रदेश प्रमुख झपड बहादुर गुरुङले गर्नुभएको हो।
तालिमको समापन गर्दै गुरुङले मादल नेपालीहरुको साझा संस्कृति भएको भएको त्यस मध्येपनि गुरुङ र मगर समुदायको पहिचान मादलसंग जोडिएको बिचार व्यक्त गर्नुभयो।
पछिल्लो पुस्ताहरुमा मादल बजाउने संस्कृतिलाई बेवास्ता गर्दै गइरहेको सन्दर्भमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद बुटवल उपमहानगर समितिले मादल बजाउने तालिम सञ्चालन गरेर उदाहरणीय कार्य गरेको तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद प्रदेश प्रमुख गुरुङले बताउनु भयो। सिकेको सिपलाई व्यबहारमा लागु गर्न हिचकिचाउन नहुने भन्दै गुरुङले सिकेको सिपलाई आयआर्जनसंग जोड्न समेत आग्रह गर्नुभयो।
कार्यक्रममा बिशिष्ट अतिथि लालबहादुर गुरुङ्गले सम्पुर्ण गुरुङ समुदाय आफ्नो भाषा, शिक्षा र संस्कृति प्रति जागरुक हुन जरुरी रहेको र स्थानीय तहको हरेक वडाहरुमा कार्ययोजना प्रस्ताव पेश गरेर गुरुङ जातीको भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि आउदो ८२ ८३ को बार्षिक बजेटमा पार्न आफु सदैव प्रतिबद्ध रहदै आइरहेको बिचार ब्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रगति नगर इकाइका अध्यक्ष कुल बहादुर गुरुङ्गले गुरुङ जातिमा रोधी ,घाटु, मारुनी संस्कृतिलाई संरक्षण गर्न नसक्दा मादलको प्रयोग कम हुदै गइरहेको उल्लेख गर्दै जनजातीहरु मध्ये मगर र गुरुङको संस्कृति र पहिचानसंग जोडिएको मादल नयाँ पुस्तामा हस्तान्तरण गर्न आवस्यक रहेको बताउनु भयो। मादल बजाउने सिपका लागि ७ दिनको समय प्रयाप्त नहुने भएपनि दक्ष प्रशिक्षकहरुको अथक मेहनतले प्रशिक्षणलाई प्रभावकारी र फलदायी बनेको गुरुङले बताउनु भयो।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद बुटवल उपमहानगर समितिका अध्यक्ष बुद्धि प्रसाद गुरुङले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्दै तालिममा सिकेको सिपलाई निखारता ल्याउन नियमित अभ्यास गर्नुपर्नेमा जोड दिनु भयो। कार्यक्रममा उपाध्यक्ष बिर बहादुर गुरुङ र नृत्य निर्देशक सघं प्रदेशका अध्यक्ष तथा तालिमका प्रशिक्षक लोकेन्द्र शाहले सिकाई कहिल्यै पुरा नहुने र तालिममा सिकेको सिपलाई जती धेरै उपयोग गर्न सक्यो उति नै सिपमा निपुर्णता आउने कुरा उल्लेख गर्नुभएको थियो।
कार्यक्रममा निबर्तमान अध्यक्ष विमल गुरुङ, जिल्ल उपाध्यक्ष आशा गुरुङ, तमु ह्युल छोंज धीं लुम्बिनी प्रदेश अध्यक्ष होम माया गुरुङ, केन्द्रीय आर्थिक सल्लाहकार बाल नर्सिङ्ग गुरुङ लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा सहभागीहरुको तर्फबाट प्रशिक्षार्थी सम्झना गुरुङले सिकाईको अनुभव बताउदै मादलको महत्व र मादल विना कुनै पनि संगीत पुरा नहुने कुरा जानकारी लिन पाउदा हाम्रो संस्कृतिप्रति गर्वानुभुति भएको कुरा बताउनु भएको थियो।
प्रशिक्षार्थीहरुबाटै मादलको धुनमा राष्ट्रिय गान गाएर शुभारम्भ भएको समापन कार्यक्रमको अध्यक्षता तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद बुटवल उपमहानगर समितिका कार्यक्रम संयोजक बिष्णु गुरुङले गर्नु भएको थियो भने सचिव सुन्दर गुरुङले कार्यक्रम संचालन गर्नु भएको थियो। उक्त तालिममा ४५ जना गुरुङ महिला र पुरुषले भाग लिएका थिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)