बुटवल,जेठ २२ ।
रुपन्देहीको बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकहरूलाई अनुगमन टोलीले बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले बुटवलका विभिन्न ११ वटा मेडिकल तथा क्लिनिकहरूमा अनुगमन गर्दा ६ वटा क्लिनिकहरू दर्ता विना नै सञ्चालन गरेको भेटिएपछि बन्द गराएको जनाएको छ ।
बुटवलमा विभिन्न ११ वटा मेडिकल क्लिनिकहरू अनुगमन गर्दा अहिले ६ वटा दर्ता विना सञ्चालनमा रहेको भेटिएको ताला लगाएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए ।
यस तालाबन्दी हुनेमा बुटवल अस्पताललाईमा रहेको रुचिका क्लिनिक, मंगलम स्वास्थ्य क्लिनिक, पुनम मेडिकल एण्ड क्लिनिक, चन्दन स्वास्थ्य क्लिनिक एण्ड फार्मेसीको कलेक्स प्रयोगशाला,वरदान क्लिनिक प्रालि र शिला मेडिकल हलको क्लिनिकलाई बन्द गराएको हो ।
अनुगमनका क्रममा अधिकांश मेडिकलहरूले क्लिनिकहरू सञ्चालन गरेका तर दर्ता नै नगरेको भेटिएको रानाले बताए ।वरदान क्लिनिक यहाँ लामो समयदेखि निसन्तानको उपचार रहेको थियो।अन्य मेडिकल तथा क्लिनिकहरु पनि पुराना भएपछि दर्ता विना चलेको भेटिएको हो ।
अनुगमन स्वास्थ्य कार्यालय, बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य सङ्घ, उपभोक्ता हित संरक्षण मञ्च, प्रहरीको रोहबरमा गरिएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी रानाले बन्द गरिएका सबै क्लिनिक सञ्चालकहरूलाई दर्ताको प्रमाणपत्र लिएपछि मात्र सञ्चालनका लागि अनुमति दिइने र अन्य दर्ता विना पनि उपचार गरेकोमा अन्य कुन कानुन आकर्षित हुन्छ सोही अनुसार अगाडि बढ्ने बताए ।
पछिल्लो समय धेरै जनगुनासो आएपछि प्रशासनले अन्य पनि क्रमिक रूपमा अनुगमन गर्ने योजना रहेको छ ।रुपन्देहीमा ५०० भन्दा बढी मेडिकल क्लिनिकहरू रहेको अनुमान गरिएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)