काठमाडौं,चैत ७।
प्रधानमन्त्री केपी शर्मा ओलीले युवा पलायन रोक्न सरकार गम्भीर रहेको बताएका छन्। बिहीबार संसद बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले युवा पलायन रोक्न सरकारले विभिन्न कार्यक्रम ल्याइरहेको बताउँदै युवा बाहिरिए भन्ने कुरालाई पूरै नकारात्मक रुपमा नलिन आग्रह गरे।
'अहिले संसार ग्लोबल भिलेज बनेको छ । व्यवसाय,रोजगारी र अध्ययनका लागि जतिसुकै विकसित र धनी देशका नागरिक पनि आफ्नो रुची अनुसार विदेश जाने सिलसिला हामी विश्वब्यापी रुपमा देखिरहेका छौं । देशका युवा बाहिरिए भन्ने कुरालाई पूरै नकारात्मक रुपमा बुझ्नु पनि हुँदैन । व्यक्तिगत तवरमा विदेश जानुलाई गौरवको विषय ठान्ने र सामाजिक रुपमा भने त्यसलाई नकारात्मक भाष्यमा बुझ्ने दोहोरो चरित्रका कारण नकारात्मक सन्देश गएको छ ।
हिजो जीवन निर्वाहका लागि सीमित विकल्प थिए, आज त्यो फराकिलो भएको छ । संसारको जुनसुकै कुनामा जान सक्ने छनौटको लाभ हाम्रा युवाहरुले पनि लिएका छन् ,'प्रधानमन्त्रीले भने,'यसो भनेर हामी युवाहरूलाई स्वदेशमै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्ने कुरामा केही कामै नगरी बसेका छैनौं ।'
प्रधानमन्त्री ओलीले स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दीगो आधार तयार गर्ने उद्देश्यले सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन भर्खरै सम्पन्न गरेको बताए। । युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई व्यवसायलाई प्रोत्साहन गरिएको उनको भनाइ छ।
सिर्जनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गरी स्टार्टअपमा आधारित उद्यमशीलता विकासमा लगानीकर्ताहरूलाई आकर्षित गर्न सहुलियत व्याजदरमा यसै वर्ष कम्तिमा पाँचसय जना उद्यमीलाई स्टार्टअप कर्जा प्रवाह गर्ने कार्यक्रम रहेको र उक्त कार्यक्रममा कर्जा लिन इच्छुक प्रस्तावकहरूबाट छनोट गरी कर्जा प्रवाह गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)