बुटवल,फागुन २० ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले शेखर कोइराला र गगन थापालाइ एक ठाउँमा उभिन आग्रह गर्नुभएकाे छ । पार्टीको १४ औं महाधिवेशनको समुह (शेखर कोइराला र गगन थापा) १५ औं महाधिवेशनमा एक ठाउँमा नभए त्यस विचार समुहबाट आफू पार्टी सभापतिमा उठ्ने बताउनुभयो ।
नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले निर्धारित समयमै महाधिवेशन गर्नुपर्ने र उक्त १५ औं महाधिवेशनमा पनि पुरानै १४ औं महाधिवेशनको विचार समुह एक ठाउँमा हुने दावी गर्नुभयो । त्यसो हुन नसके उक्त विचार समुहको नेतृत्व गरेर आफू सभापतिमा आउने बताउनु भएको हो ।
उहाँले विधान अनुसार निर्धारित समयमै महाधिवेशन गर्नुपर्ने बताउँदै निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त नहुने र यसले पार्टीको वैधानिक अस्तित्व संकटमा पर्ने बताउनु भयो । पार्टीभित्र समूहहरू बन्नु स्वाभाविक भए पनि स्वार्थका आधारमा बनेका समूहले पार्टी र देशलाई फाइदा नपु¥याउने उहाँको भनाइ छ ।
संविधान संशोधनका लागि गठबन्धन दलभित्र मात्र होइन, बाहिरका विज्ञहरूको समेत सहभागितामा समिति बनाएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । केन्द्रीय सदस्य केसीले भ्रष्टाचार नियन्त्रणका लागि एक हजार र ५ सयका नोट ब्यान्ड गर्न र शक्तिशाली छानबिन आयोग बनाउनुपर्ने आवश्यकता औँल्याउनु भयो ।
उहाँले संसदको सबैभन्दा ठूलो दल काँग्रेसको सहभागितामा सरकार बनेकाले सरकारमा काँग्रेसको अनुहार देखिनुपर्ने भनाई राख्नुभयो । उहाँले तर अहिलेसम्म सरकारमा काँग्रेसको अनुहार नदेखिएको भन्दै लोकतान्त्रिक दुई पार्टीको सहकार्यमा बनेको सरकार सन्तोषजनक नभएको टिप्पणी गर्नुभयो ।
उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति र सक्रियताले आत्तिहाल्नुपर्ने कुनै कुरा नभएको पनि बताउनु भयो । कार्यक्रम नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)