नवलपरासी,माघ २२ ।
नवलपरासी जिल्ला सुनवल ८ मिलनचोकमा अवस्थित श्री मिलन इङ्ग्लिस बोर्डिङ स्कुलमा सरस्वती पूजा, अक्षरारम्भ तथा २५ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यालयका अध्यक्ष गोपालप्रसाद बस्याल सभाध्यक्ष, सुनवल वडा नम्बर ८ का वडाध्यक्ष देवबहादुर गुरूङ प्रमुख अतिथि , प्याब्सन केन्दीय सदस्य टिकाराम न्याैपाने र नवलपरासी जिल्ला प्याब्सन अध्यक्ष डम्बर बहादुर गुरूङ विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो भने अतिथिहरूमा तेजबहादुर गुरुङ, विनोद टमटा , मिरा खत्री, दोर्जे तामाङ, गुमबहादुर थापा , तुलाराम पोख्रेल , राजेन्द्र हरिजन, सम्झना सुवेदी , राजेन्द्र गोतामे, ईश्वर राना , खेम नेपाली , रमेश सिंह ठकुरी , पद्म बस्याल,सीता गुरूङ, सानुबाबु श्रेष्ठ,निलकण्ठ गैरे , प्रचण्ड जिसी , हरिकुमार ढकाल , होमनाथ आचार्य , गुप्तबहादुर के.सी , गोविन्द थापा , जयबहादुर अधिकारी , कुलचन्द्र भण्डारी , शारदा न्याैपाने, प्रचण्ड जिसी , विमल केसी , लगायत विभिन्न उच्च पदस्थ व्यक्तित्वहरू रहनुभएको थियो । स्थानीय जनता, अभिभावक र विद्यार्थीको बाक्लो उपस्थिति भएकाले विद्यालयको चौर भरिभराउ थियो ।
कार्यक्रम सञ्चालन विद्यालयकै शिक्षक प्रकाश अधिकारी र शिक्षिका सरिता तामाङले गर्नुभएको थियो भने विद्यार्थीहरूद्वारा लाैकिक मङ्गलाचरण गरी प्रमुख अतिथिद्वारा पानसमा बत्ती बालिकन ब्यानर पढेर शुभारम्भ गरिएको थियो । स्वागत मन्तव्य विद्यालयकै शिक्षक बालकृष्ण गैह्रेले प्रदान गर्नुभयो भने विद्यालयका प्राचार्य नवराज कण्डेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि टिकाराम न्याैपानेले विद्यार्थीले साथीबाट धेरै कुरा सिक्ने भएकाले आफ्ना नानीबाबुहरूले कस्तो साथीको सङ्गत गरेका छन् भन्ने कुरामा विशेष ध्यान पुर्याउन अभिभावकहरूलाई सुझाव प्रदान गरी विद्यालयलाई शुभकामना व्यक्त गर्नुभयो ।
विद्यालयकै अर्का अध्यक्ष राजेन्द्र गोतामेले विद्यालयकै पूर्वविद्यार्थीहरूले गरेका प्रगतिहरको जानकारी गराउँदै विद्यालय प्रविधिमैत्री बन्दै अगाडि बढेको कुरा व्यक्त गर्नुभयो । अतिथिकै रूपमा रहनुभएका पद्म बस्यालले विद्यालय स्थापना कालमा केही समय अध्यापन गराउँदाका पलहरू सम्झँदै विद्यालय समयसापेक्षरूपमा दौडिएकोले हर्षित भएको भन्दै शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन नवलपरासीका अध्यक्ष डम्बर गुरुङले घरपरिवार र विद्यालयको सम्बन्ध बलियो भएमा मात्र विद्यार्थी अब्बल हुने भएकाले अभिप्रेरणात्मक प्रसङ्गहरू सुनाएर विद्यालय र अभिभावकलाई हाैसला प्रदान गर्दै प्याब्सन मिलनको प्रगतिमा सदैव सहयोगी बन्ने कुरामा विश्वास व्यक्त गर्नुभयो । आगन्तुक अन्य अतिथिहरूले पनि देशलाई दक्ष जनशक्तिको खाँचो
भएकाले विदेश पलायन हुने विद्यार्थीहरूभन्दा देशमै केही गर्छु भन्ने विद्यार्थीहरू उत्पादनमा विद्यालय कटिबद्ध रहेको कुरा व्यक्त गर्दै विद्यालयलाई शुभकामना प्रदान गर्नुभयो । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथिका रूपमा रहनुभएको देवबहादुर गुरूङद्वारा सुनवल क्षेत्रकै नमुना विद्यालयका रूपमा चिननका लागि विद्यालय अग्रसर रहेता पनि स्थानीय बासिन्दाले आफ्नै ठाउँको तीर्थस्थल हेला गरेकोमा दुःख व्यक्त गर्दै मिलन बोर्डिङले गरेको प्रगतिमा खुसी व्यक्त गर्नुभयो ।
बिचबिचमा विद्यार्थीहरूद्वारा सांस्कृतिक नृत्य, गायनकला, सम्पूर्ण आगन्तुक अतिथिहरूलाई मायाको चिनो प्रदान, विशेष प्रतिभावान् शिक्षक/ शिक्षिकाहरूलाई प्रशंसा पत्र प्रदान, सक्रिय अभिभावकहरूलाई सम्मान पत्र वितरण, विद्यार्थीहरूलाई पुरस्कार वितरणरको संयोजनले कार्यक्रमको रौनक झन् बढेको थियो । अन्त्यमा कार्यक्रका सभापति गोपालप्रसाद बस्यालद्वारा सम्पूर्ण आगन्तुक अतिथिहरू तथा अभिभावकहरू, शिक्षक शिक्षिका , विद्यार्थीहरू, प्राविधिक सहयोगी लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद प्रकट गर्दै कार्यक्रम सभ्य अनि भव्य तवरबाट सम्पन्न भएको बताउँदै कार्यक्रमको अन्त्य भएको घोषणा गर्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)