बुटवल,पुस २ ।
इनरव्हील क्लब अफ मिडटाउन बुटवलले विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी साम्रगी वितरण गरेको छ ।
क्लबले शनिबार पाल्पाको तानसेन नगरपालिका ६ बर्तुङ्गमा स्थित जनप्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी वितरण गरेको हो ।
क्लबको वार्षिक कार्ययोजना अनुसार जेहन्दार विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको इनरव्हील क्लब अफ् मिटडाउन बुटवलका अध्यक्ष राधिका रिजाल बताइन् ।
सो कार्यक्रममा बोल्दै इनरव्हील डिष्ट्रिक ३५० नेपालका चियरमेन आशा श्रेष्ठले रुपन्देही जिल्लामा रहेको क्लबले आफ्नो जिल्ला भन्दा बाहिर आएर कार्यक्रम गर्नु सामाजिक उत्तरदायित्व बहनको बिषय भएको बताइन्। उनले क्लबले सामाजिक क्षेत्रमा गरेका उदारहणीय कार्यको प्रशंसा गर्दे आगामी दिनमा जहाँँ आवश्यकता छ, त्यहाँ पुगेर शिक्षा ,स्वास्थ्य, नेतृत्व , व्यक्तित्व विकास लगायतका कार्यक्रम गर्न आग्रह गरे । 
तानसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष सागरमा महर्जनले बुटवलदेखि पाल्पामा आएर जनप्रिय माध्यमिक विद्यालय छनोट गरी न्यानो कपडा र स्टेशनरी प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । आगमी दिनमा पनि क्लबसँग सहकार्य गर्न तयार रहेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम पाण्डे, विद्यालयका प्रधानाध्यापक हिरा आचार्यले बोल्दै विद्यालयमा रहेका बालबालिका भोलिका कर्णधार भएकाले उनीहरुमा केही समस्या देखिएमा सबै मिलेर पढ्न पाउने वातावरण निर्माण गर्नुपर्ने बताए । विद्यालयमा आएका विद्यार्थीहरुमा आर्थिक समस्या देखा परेमा विद्यालयले सहयोगी संघसंस्था र स्वयं विद्यालयबाटै पनि पढ्ने वातावरण निर्माण गरेको बताए ।
क्लबले २०८१ को तिहारमा आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट सङ्कलन गरेको रकम र अष्ट्रेलियाको मेलबर्नमा रहेका तुलसी सापकोटाको सहयोगमा न्यानो कपडा स्वीटर, स्टेशनरी सामग्री वितरण गरेको क्लबका पुर्व अध्यक्ष तृण्णा श्रेष्ठले जानकारी दिइन् ।
कार्यक्रम सम्पन्न गर्नका लागि क्लबका सदस्य कविता परियार ,कार्यसमिती सदस्य शिवा राना र पुर्व अध्यक्ष तृण्णा श्रेष्ठले पनि सहयोग गरेका थिए।
कार्यक्रममा वडा नम्बर ६ का सदस्य गोमा गैरे, विद्यालयका उपप्राचार्य तीर्थप्रसाद गौतम, व्यवस्थापन समितिका सदस्य लक्ष्मी पाण्डे, कुलबहादुर भाट, शिक्षक अभिभावक सङ्घका अध्यक्ष शिव वि.क., विद्यालयका पूर्वविद्यार्थी, प्रकाश पाण्डे , क्लबका पुर्व अध्यक्ष मिठु भण्डारी, क्लबका सदस्यहरु जमुना श्रेष्ठ , शिवा राना, सृष्टि अधिकारीको उपस्थिति रहेको कार्यक्रमको संचालन सचिव शुशिला पोखरेलले गरेकी थिइन् ।
इनरव्हील क्लब अफ मिडटाउनले सामाजिक, शैक्षिक, स्वास्थ्य, लगायतका क्षेत्रमा बिभिन्न सामाजिक क्षेत्रमा स्थापनादेखि नै काम गर्दै आइरहेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)