बुटवल,मंसिर १८ ।
बुटवलको नहरपुरमा रहेको ज्ञानपुञ्ज इ. बो. स्कूलले उजेलापुर स्थित लुम्बिनी अपाङ्ग तथा दृष्टिविहिन आश्रममा आश्रीतहरुलाई शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको छ ।
विद्यालयमा पढाउने सम्पूर्ण शिक्षक तथा ज्ञानपुञ्ज स्काउट र ज्ञानपुञ्ज रेडक्रस सोसाइटीद्वारा एक दिन बराबरको तलव र खाजा खर्च कटाएर उठेको रकमबाट केही थान शैक्षिक सामग्री र खाद्यान्न प्रदान गरेको हो ।
यो कार्यक्रमले हाम्रो विद्यार्थीहरूमा करुणा, सहानुभूति, र सहयोगको भावना जगाउने र अपांगता भएका व्यक्तिहरूसँग सहकार्य गर्नु हाम्रो दायित्व मात्र नभई यसले हामीलाई मानवताको सही अर्थ बुझ्न सिकाउने कुरा विद्यालयका प्राचार्य तोयाराम पौडेलले बताउनुभयो ।
खानेकुराको अभाव र पढ्ने सामग्री नपाएर कसैले पनि जीवन बाँच्न नपरोस् र त्यस्तो दयनीय अवस्थामा रहेकाको पहिचान गरी सबैले सबैतिरबाट सहयोग गर्नुपर्ने विचार उपास्थित शिक्षक तथा विद्यार्थीले राखेका थिए ।
आफूप्रति सहानुभूति र उत्प्रेरण प्रदान गर्ने ज्ञानपुञ्ज टिमप्रति अपङ्ग समूहका टोली नेता लिलाराम रोक्का मगर ले धन्यवाद ज्ञापन गरेका थिए ।
त्यसैगरी, विद्यार्थीको तर्फबाट कक्षा ९ मा अध्ययनरत विद्यार्थी भाइ अमित अधिकारीले यस कार्यक्रममा सहभागी हुन पाउँदा निकै भाग्यमानी ठानेको बताए।
उक्त कार्यक्रमको सन्चालन विद्यालयका सह–प्राचार्य भिम बस्नेतले गर्नुभयेको थियो भने कार्यक्रममा विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै ज्ञानपुञ्ज स्काउट तथा ज्ञानपुञ्ज रेडक्रसका बिद्यार्थी एवं शिक्षकहरुको सहभागिता रहेको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)