बुटवल,मंसिर १७ ।
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले आसन्न पत्रकार महासंघको निर्वाचनमा सबै संगठनको अस्थित्व स्वीकार गरी महासंघलाई साझा बनाउनु पर्ने धारणा राख्नुभएको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीमा आईतबार भएको संक्षिप्त भेटघाटमा अध्यक्ष लम्सालले महासंघलाई साझा बनाउने अभियानको नेतृत्व युनियनले गर्ने बताउनुभयो ।
महासंघले यहि मंसिर २८ गतेलाई निर्वाचनको मिति तय गरि सदस्यता शुद्धिकरण गरेपछिको सदस्यहरुको नामावली सार्वजनिक गरिसकेको छ । अध्यक्ष लम्सालले महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि संगठनहरु बिच गठबन्धनको मोडालिटिमा छलफल गरिने र एउटा निश्कर्षमा पुगिने पनि जानकारी गराउनु भयो ।
उहाँले महासंघको नेतृत्व युनियनले लिनेगरी विभिन्न चरणमा छलफल भईरहेको बताउँदै प्रदेश तथा जिल्ला शाखामा पनि एउटा मापदण्ड बनाएर काम गरिने बताउनुभयो ।
उहाँले युनियनको जिल्ला शाखाहरुको साधारण सभा तथा अधिवेशन माघ, फागुन र चैतमा तीन महिनामा सक्नेगरी अगाडि केन्द्र अगाडि बढेको जानकारी गराउँदै त्यसका लागि समेत तयारी रहन आग्रह गर्नुभयो ।
त्यस अवसरमा नेपाल प्रेस युनियन रूपन्देहीका अध्यक्ष कविन्द्र नेपालले महासंघको निर्वाचनमा अन्य संगठनसंग गठबन्धन बनाउँदा सबै जिल्ला र प्रदेशमा समेत सबैलाइ समेट्ने गरि खाका बनाउन आग्रह गर्नुभयो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)