Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

`मुलुकको आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नुहुँदैन´ : राष्ट्रपति पौडेल

`मुलुकको आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नुहुँदैन´ : राष्ट्रपति पौडेल

  • 720
    SHARES

  • `मुलुकको आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नुहुँदैन´ : राष्ट्रपति पौडेल

    काठमाडौँ,कार्तिक २४ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासनप्रणालीको जगमा नै मुलुकको सांस्कृतिक,सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु नहुने बताउनुभएको छ । 

    राष्ट्रपति रामचन्द्र पौडेलले गणेशमान सिंह तथा जन आन्दोलन  सहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा शनिबार काठमाडौँमा आयोजित गणेशमान सिंह ११० औ जन्म जयन्ती तथा अभिनन्दन कार्यक्रमलाई संवोधन गर्दै सो धारणा व्यक्त गर्नुभयो । 

    ‘मानवजीवनमा स्वतन्त्रताको मूल्य सदैव सजीव र शाश्वत हुन्छ । स्वतन्त्रता लोकतन्त्रको आधारभूत र अत्यावश्यक आलोक पनि हो’, उहाँले भन्नुभयो, “ लोकतन्त्रको यही आलोकलाई अंगिकार गर्दै हामीले अपनाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासनप्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नुहुँदैन । ” 
    मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने अनि यो कुरा यही व्यवस्थामै संभव छ भनेर जनतालाई भरोसा जगाउन सक्नु नै अहिलेको आवश्यकता भएको उहाँको भनाइ थियो ।

    “ त्यसको लागि  मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरी छ, अवसरबाट वञ्चित, गरीब र पिछडीएका जनताको आवाज र असन्तुष्टि सुनी उनीहरूलाई केन्द्रमा राखेर सरकारका नीति एवम कार्यक्रम तय गरी लागू हुनुपर्दछ, सुशासन र विकास त्यसको आधार हो भने मलाई लाग्दछ”,राष्ट्रपति पौडेलले भन्नुभयो । 
    उहाँले गणेशमानजीले भनेजस्तो सत्ता चलेको भए आज देखिएका विकृति र विसंगति वेहोर्नुपर्ने थिएन भन्दै तथापि वीपी, गणेशमानले भन्दै आएको निचोडकै रूपमा वर्तमान संविधान प्राप्त गरेको पनि बताउनुभयो ।

    राष्ट्रपति पौडेलले वीपीले गणेशमानका बारेमा भन्ने गर्नुभएको कुरा स्मरण गर्दै भन्नुभयो - गणेशमामजी साहसी वीर र संघर्षशील त हुनुहुन्थ्यो नै, भविष्य द्रष्टा पनि हुनुहुन्थ्यो ।
    नेपालमा लोकतन्त्र स्थापना र पुनस्थापनामा गणेशमान सिंहको योगदान उच्च रहेको उहाले बताउनुभयो । 
    “दृढ विचार, साहस र त्याग सिंहको समग्र व्यक्तित्वको सार हो, लोकतान्त्रिक सिद्वान्त, मूल्य मान्यता र निष्ठालाई आफ्नो जीवनशैली मान्नुहुने उहाँले यसको मूल्यमा कहिल्यै कुनै सौदावाजी गर्नुभएन, सिंहको त्यही सद्गुणनै लोकतन्त्रप्रेमीहरूको लागि आज पनि उत्तिकै प्रेरणापुञ्ज हो भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

    उहाँले पद पाउन पद्धति मिच्ने र आफ्नो स्वार्थपूर्ति गर्न लोकतन्त्रको आधारभूत मूल्य मान्यता कुल्चने प्रवृत्ति लोकतन्त्रको लागि हितकर हुन सक्दैन भन्नुभयो । 

    सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र स्वतन्त्रताका पक्षमा महत्वपूर्ण योगदान गर्नुहुने मानवअधिकारवादी नेता कपिल श्रेष्ठलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, कार्तिक २४ २०८११२:३९:३८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology