बुटवल,कार्तिक २३ ।
विभिन्न किसिमका भवितव्य, प्राकृतिक प्रकोप र दुर्घटनालगायतका कारणले अकालमै मृत्यु भएका सम्पूर्ण सुमेरु वंशीय ज्ञवालीहरूको मोक्षका लागि यज्ञ ,होम र पूजापाठ गरिने भएको छ ।
ज्ञवाली मूल पुरुष सुमेरुले कुलपूजा गरेको पवित्र स्थान रुरुक्षेत्र गाउँपालिका ४ लेखधाममा यही कार्तिक २७ गते हरिबोधनी एकादशीका दिन सो पूजापाठ हुनेछ । पूजा कार्यक्रम समितिका अध्यक्ष कृष्णप्रसाद ज्ञवालीका अनुसार विभिन्न किसिमका भवितव्य, प्राकृतिक प्रकोप र दुर्घटना लगायतका कारणले अकालमै मृत्यु भएका सुमेरु वंशीय ज्ञवालीहरूको मोक्षका लागि सो पूजापाठ गरिने लागिएको हो ।
सो अवसरमा ज्ञवाली वंशको श्रीवृद्धि, समृद्धि, सुख–शान्ति र आरोग्यका लागि समेत नारायणवली, भागवत पाठ एवं होम– पाठपरायण लगायतका पूजा कार्यक्रमहरू सम्पन्न गरिनेछन् । पूजा कार्यक्रम सम्पन्न गर्नका लागि करिब ३ लाख लागत लाग्ने र करिव ५ सय ज्ञवाली बन्धुहरुको सहभागिता रहने समितिको अनुमान रहेको अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो ।
सो का लागि विभिन्न ५ वटा उपसमिति समेत गठन भएका छन् ।कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका ८४ वर्ष पुगेका सम्पूर्ण ज्येष्ठ नागरिक र चन्दादातालाई सम्मान पनि गरिने भएको छ ।
अध्यक्ष ज्ञवालीले देशविदेशमा छरिएर रहेका सम्पूर्ण ज्ञवालीहरुलाई सो अवसरमा उपस्थित भई पूजा कार्यक्रममा सहभागी हुन आव्हान गर्नुभएको छ ।उक्त स्थान सम्पूर्ण ज्ञवालीहरुको मूल थलो मानिन्छ भने ज्ञवाली मूल पुरुष सुमेरुले कुलपूजा प्रारम्भ गरेका कारण पवित्र धामका रुपमा चर्चित समेत छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)