रिडी (गुल्मी),कार्तिक ११
अटिजम पाठशाला नेपाल गुल्मीले आफ्नो सातौँ वार्षिक साधारण सभासहित अटिजम सचेतना उत्सव सम्पन्न गरेको छ ।रूरूक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी, रातामाटास्थित संस्थाको आफ्नै भवनमा आयोजित कार्यक्रममा गुल्मी क्षेत्र नम्बर १ ‘क’ का प्रदेश सांसद चिन्तामणि पाण्डेले संस्थाले अटिजम भएका बालबालिकालाई अध्ययनका निम्ति वातावरण तयार गरी सरोकारवाला सबैमा सचेतना प्रदान गरेको उल्लेख गर्नुभयो । उहाँले संस्थालाई आवश्यक सबै सहयोग गर्ने बताउँदै संस्थाको आजीवन सदस्य बन्नुभयो ।
संस्थाका अध्यक्ष लक्ष्मीदेवी पन्थको अध्यक्षता एवम् संस्थाका संस्थापक तथा स्वयम्सेवक विष्णुप्रसाद भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिहरू पूर्व सांसद कमलराज श्रेष्ठ, छत्रकोट गाउँपाकिका उपाध्यक्ष सावित्रा ज्ञवाली र अक्षय कोषदाता लोकश ज्ञवाली, रुरुक्षेत्र गाउँपालिका–१ का अध्यक्ष नवराज विक, गाउँपालिका सदस्य लक्ष्मी भट्टराई, वडा सदस्यहरू घनश्याम ज्ञवाली र लक्ष्मी सुनार, संस्कृत तथा साधारण माविका प्रअ माधवप्रसाद ज्ञवाली, सीता ज्ञवाली लगायत अक्षयकोषदाता र आजीवन सदस्यहरु अतिथि रहेको कार्यक्रममा पूर्व सांसद कमलराज श्रेष्ठ, छत्रकोट गाउँपाकिका उपाध्यक्ष सावित्रा ज्ञवाली, अक्षय कोषदाता लोकश ज्ञवाली, रुरुक्षेत्र गाउँपालिका–१ का अध्यक्ष नवराज विक, सिता ज्ञवाली लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।
सो अवसरमा प्रमुख अतिथि पाण्डे, छत्रकोट गापा उपाध्यक्ष सावित्रा ज्ञवाली, समाजसेवी हिमाल श्रेष्ठ, लेखनाथ कँडेल, रामप्रसाद घिमिरे, केशव भण्डारी, पार्वती गौतम, लक्ष्मी रजाली, सरस्वती भण्डारी, किरण आले, किशोर आल, किशन पाण्डे र केशव कँडेलले संस्थाको आजीवन सदस्यता लिनुभएको थियो ।
संस्थाका विद्यालय विभाग प्रमुख अमृता कँडेलले प्रगति र कार्ययोजनासहित ३४ लाख ४६ हजार बराबारको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सोही अवसरमा शिक्षक एवम् लेखक ऋषिराम ज्ञवालीद्वारा रचित तथा अटिजम पाठशालाले प्रकाशन गरेको ‘वाटिका’ नामक कवितासङ्ग्रहको विमोचनसमेत गरिएको थियो ।
विमोचित कृतिको समीक्षा कवि तथा लेखक रेणुका पन्थीले गर्नुभएको थियो । २०७४ कार्तिक १३ गते स्थापित उक्त संस्थाका निम्ति तुल्सीकुमारी श्रेष्ठले प्रदान गरेको दुई रोपनी जग्गामा एउटा हलसहित पाँच कोठाको एकतले भवन बनाई अटिजम भएका १३ विद्यार्थीलाई दिवाकालीन हेरचाहसहित अध्यापन गराइँदै आइएको स्वयम्सेवक विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)