गुल्मी,असोज १२ ।
बिहिबारदेखि परेको अबिरल वर्षाका कारण गुल्मीको रिडी‐ रुद्रबेणी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्ड अन्तरगत सत्यवती गाउँपालिका ६ उर्लीखोला नजिकै डहरेखोलामा पानीको बहाव बढेपछि शुक्रबार बिहानदेखि सडक अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध बनेपछि वामीटक्सारदेखि रुद्रबेणी‐ रिडी हुँदै बुटवल‐काठमाण्डौसम्म जाने लामो तथा छोटोदुरीका सवारी साधनहरु बीचबाटोमै अलपत्र परेका छन । सडक सुचारु गर्न स्थानीय पालिका र प्रशासनद्वारा पहल भैरहेपनि वर्षा भैरहेको र खोलामा पानीको बहाव नरोकिएका कारण सडक सुचारु गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
लगातारको अविरल वर्षाका कारण ग्रामिण क्षेत्रबाट सदरमुकाम तम्घास आवतजावत गर्ने तीन दर्जन भन्दा बढी सडकहरु अवरुद्ध बनेको बताईएको छ । सडक अवरुद्ध बनेपछि ग्रामिण क्षेत्रबाट सवारी साधनहरु सञ्चालन हुन नसक्दा शुक्रबार सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुको न्यून उपस्थीति रहेको थियो ।
बर्षाका कारण थप जोखिम बढन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनार र पहिरो ग्रस्त क्षेत्रका बासिन्दाहरुलाई सर्तकभइ सुरक्षीत स्थानमा बसोवास गर्न आग्रह गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)