काठमाडौँ,असोज १२ ।
अविरल वर्षासँगै बाढीले राजधानीमा एउटा ग्यास बुलेट बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान उक्त बुलेट हनुमन्ते नदीमा बग्दै गरेको देखिएको हो ।
भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा ग्यास निस्केर माथितिर गइरहेको देखिन्छ । प्रत्यक्षदर्शीले ग्यास चुहिँदै बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको बताएका छन् ।
ग्यास चुहिएकाले सो क्षेत्रका स्थानीय त्रसित बनेका छन् भने ग्यासको चर्को गन्ध आइरहेको छ । प्रहरीले घटनाबारे जानकारी आएपछि थप विवरण आउन बाँकी रहेको जनाएको छ ।
ललितपुरस्थित च्यासलको पुलमा अड्किएको ग्यास बुलेट निकाल्न समस्या देखिएको छ । हनुमन्ते खोलाले बगाएर ल्याएको बुलेट अड्किएको र ग्यास चुहिरहेको खबर पाएपछि घटनास्थलमा प्रहरी परिचालन गरिएको ललितपुरका एसएसपी शेखर खनालले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)