बुटवल,भदौ १२।
रुपन्देहीको तिलोत्तमा–३ जानकीनगरमा रहेको दुई तले घरमा देखिएको विवाद समाधान गरि घरमा बस्ने वतावरण बनाई दिन घरधनी पशुपति घिमिरेले सबैसँग आग्रह गर्नु भएको छ ।
श्रीमति राधादेवी पौडेलको नाममा २०७४ सालमा खरिद गरेको घर पहिलेका घरधनीले छाड्न नमानेको भन्दै घिमिरेले घरमा बस्ने अनुकुल वातावरण मिलाई दिन गुहार गर्नु भएको हो ।
उहाँले बुधबार पत्रकार सम्मेलन गरेर आफुले खरिद गरेको घरमा बस्ने अनुकुल वातावरण सृजना गर्न पुराना घरधनीसँगै प्रहरी प्रशासन, नगर, वडा कार्यालय सबैसँग आग्रह गर्नु भएको छ । तिलोत्तमा तीन (साविकको आनन्दवन गाविस–३ ‘ख’) स्थित कित्ता नम्बर ३८६९ मा रहेको १६.७५ क्षेत्रफलको जग्गामा बनेको २ तले घर घिमिरे (श्रीमति राधादेवी पौडेल) ले ७४ सालमा बिमलाकुमारी श्रेष्ठसँग खरिद गर्नु भएको थियो । उहाँले आफुले खरिद गरेको घर आफैलाई दिनु पर्ने माग समेत पत्रकार सम्मेलनमा गर्नुभयो ।
उहाँले सबै प्रकृया पुर्याएर सहमतिमै घर जग्गा खरिद गरेको उल्लेख गर्दै आफुमाथी लगाइएका विभिन्न आरोपहरु निराधार रहेको प्रतिकृया दिनुभयो । आफुलाई बिमलासँग २० करोड माग गरेको आरोप लगाइएको र त्यसमा कुनै सत्यता नभएको र झुट्टा आरोप मात्र भएको घिमिरेले बताउनुभयो । कुमारी बैंकमा घर धितो राखेको र कुमारी बैंकले करिव एक महिना अगाडि घर लिलामको ३५ दिने सुचना समेत टाँस गरेको उहाँले बताउनुभयो ।
घिमिरेका अनुसार अहिले पनि २ करोड ७० लाख जति बैंकमा लोन तिर्न बाँकी छ । आफुले किनेको घर आफ्नै भएकाले भदौ १५ गते घर सर्ने कार्यक्रम रहेको समेत घिमिरले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । यस्तै यसअघिनै विमला कुमारी श्रेष्ठले संचारकर्मीलाई प्रतिकृया दिदै लेनदेनअघि आफूहरु बीच भएको सहमति अनुसारनै घरजग्गा आफुले फिर्ता पाउनु पर्ने माग गर्नु भएको छ ।
कागजातमा जे जस्तो भएतापनि घर फिर्ता गर्न लाग्ने र हिसाबमा देखिए अनुसारको रकम घिमिरेलाई बुझाउन आफु तयार रहेको श्रेष्ठले प्रतिकृया दिनुभयो ।
२०७४ सालमा घिमिरेले घर खरिद गरि आफ्नो नाममा बनाएतापनि विगत ७ वर्षदेखि श्रेष्ठ परिवार सोही घरमा बस्दै आएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)