बुटवल,साउन ३२ ।
लेखक तथा पत्रकार घनश्याम खड्काको गैरआख्यान कृति ‘आनन्द संहिता’को विमोचन गरिएको छ । बुद्ध दर्शन र आनन्द प्राप्तीको मार्ग देखाउने उदेश्यले लेखिएको पुस्तकलाई बौद्ध धर्म गुरु श्याल्पा तेजिङ रिन्पोंछेले विमोचन गरेका हुन् ।
बुद्धजन्मस्थल लुम्बिनीमा विहिबार बौद्ध गुरु श्याल्पा रिपोंछेसँगै प्रतिनिधिसभा सदस्य सन्तोष परियार, लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिष्टार डा. तिलक आचार्य, लेखक घनश्याम खड्का, प्रकाशक बिमल खड्का र नेटुवा किशोरी ज्योति नेटुवा सरिक थिए । उत्प्ररेणादायी पुस्तक ‘आनन्द संहिता’ अल्केमी पब्लिकेशन्सद्धारा प्रकाशन गरिएको हो । पुस्तकमा आनन्दपूर्ण जीवनको अनुवोध कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित छ ।
मानिसले जीवनमा सबै काम आनन्द पाइएलाकी भनेर गरे पनि अन्ततः दुःखले अत्याउने गरी किन घेरिन्छ त्यस अवस्थाबाट मुक्त कसरी हुने भन्ने बारे पुस्तकमा विवेचना गरिएको छ । शान्तिका प्रतिक महामानव गौतमबुद्धको उपदेश र मार्गलाई पछ्याउँदै लेखिएको पुस्तक बुद्धजन्मस्थलमै विमोचन गरेर लेखकले लुम्बिनीको समेत विश्वभर प्रवद्र्धनमा जोड दिएका हुन् । विमोचन कार्यक्रममा श्याल्पा तेजिङ रिन्पोंछेले गौतमबुद्धको शिक्षाले मानिसलाई दुःखबाट मुक्तिका लागि मार्गदर्शन गरेको उल्लेख गर्दै पत्रकार लेखक खड्काले पनि आनन्द संहिता मार्फत त्यहि सन्देश दिएको बताए ।
उनले पुस्तकले आनन्द प्राप्तीको खोजीमा रहेका पाठकहरुलाई मार्गदर्शन गर्ने बताए ।विमोचनमा प्र्रतिनिधिसभा सदस्य सन्तोष परियारले गैरआख्यान पुस्तकको सिमितामा पनि पुस्तकले मान्छेको जीवनको आनन्दलाई भित्रैबाट बाहिर निकाल्ने काम गरेको बताए ।
उनले पत्रकारिता मार्फत पिँधमा पारिएकाहरुको कथा लेखिरहेको पत्रकारले मान्छेका जीवनका विभिन्न पाटाहरुलाई बुद्धमार्गसँग जोड्दै आनन्द प्राप्तीबारे आम पाठकलाई सरल रुपमा बुझाउने प्रयत्न गरेको बताए । ‘सुख र दुख बाहिरी कुरा रहेछन, आनन्द भित्रि प्राप्ती हो, यो कुरा यहि पुस्तक पढेर थाहा पाएँ’ परियारले भने ।लेखक घनश्याम खड्काले पुस्तकले विश्वले मानेको बुद्धको जन्मस्थलमा आएर पुस्तक विमोचन गर्न पाएकोमा खुशी व्यक्त गरे ।
उनले बुद्ध भनेको व्यक्ति नभई चरित्र भएको बताउँदै बुद्धले भनेजस्तै दुःखकाट मुक्ति पाउने भनेको आनन्द प्राप्ती भएको लागेकाले पुस्तकमा तीनै कुराहरु लेखिएको बताए । उनले जीवनभर सबैले आनन्दकै खोजी गरिरहे पनि अधिकांशको जीवनमा परिणाम भने ठीक विपरित हात लाग्ने हुनाले आम रुपमा दुःख नै जीवनको सत्य हो भन्ने भान पर्न गएको बताए ।
विमोचन कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्य, सहप्राध्यापक डा. शारदा पौडेल, शंकर भण्डारीले पुस्तकमाथि समिक्षा गर्दै पुस्तकले जीवनमा आनन्द प्राप्तीको बिषयलाई सरल रुपमा पाठकलाई बुझाउने काम गरेको बताए ।अल्केमी पब्लिकेशन्सका बिमल खड्काले ‘आनन्द संहिता’को प्रत्येक अध्यायमा आनन्द प्राप्तिको सरल तर अद्भुत मीमांशासहित अन्त्यमा त्यसको प्रयोग गर्ने विधिसमेत उल्ल्ेख गरिएकाले पुस्तक उपयोगी रहेको बताए ।
पुस्तकले आनन्द प्राप्तिको विभिन्न विधि र दृष्टिकोणलाई सूक्ष्म रूपमा विश्लेषण गर्दै जीवनका साना ठूला सबै व्यवधानबाट सजिलै गरी पार पाउने बाटाहरुका बारेमा पनि सुझबुझपूर्ण बर्णन छ । लेखक खड्काले यसअघि उत्प्रेरणादायी उपन्यास ‘निर्वाण’ प्रकाशन गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)