ढाका, साउन २२ ।
बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद विगठन गर्नुभएको छ ।
“राष्ट्रपतिले संसद विघटन गर्नुभएको छ”, राष्ट्रपति मोहम्मद साहाबुद्दिनका प्रेस सचिव सिप्लु जमानले बताउनुभयो ।बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको हो ।
बङ्गलादेशमा आएको राजनैतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गर्नुभएको हो ।
प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्लादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको ढाका ट्रिब्यूनले जनाएको छ । रासस/एएफपी
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)