बुटवल,साउन १७ ।
रूपन्देहीमा अस्पतालमा सुत्केरी गराउन पुगेकी एक महिलाको ज्यान गएको छ ।
तिलोत्तमा- ४ स्थित ओम अस्पतालमा अपरेशन गरेर छोरीलाई जन्म दिएकी शान्ति नमूना माविकी अंग्रेजी शिक्षिका सिर्जना पौडेलको ज्यान गएको हो । मृतकका आफन्तले अस्पतालको लापरवाहीले सुत्केरीको ज्यान गएको बताएका छन् ।उनी निम्न माध्यामिक तहमा अंग्रेजी शिक्षिकाको रूपमा कार्यरत थिइन् । उनका श्रीमान् युवराज बेल्वासे पनि शिक्षक हुन् ।
डेलिभरीको मिति नजिकिएपछि सिर्जना साउन १ गतेदेखि बिदामा थिइन् । शान्ति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक कूलप्रसाद लामिछानेले उपचारमा कहीँ न कहीँ खोट भएको हुनसक्ने बताए ।‘उहाँमा कुनै दीर्घरोग भएको मलाई जानकारी थिएन,’ लामिछानेले भने, ‘नियमित स्कूल आउनुहुन्थ्यो । असल र क्षमतावान शिक्षक हुनुहुन्थ्यो । बच्चा जन्माउन अस्पताल गएको सुत्केरी घर फर्किन नसक्ने अवस्था आउनु दुःखद् हो ।’
श्रीमान् युवराज पूर्वी नवलपरासीको देवचुलीस्थित प्रभात आधारभूत विद्यालयका शिक्षक हुन् । श्रीमतीको मृत्युले विक्षिप्त बनेका युवराजको काँधमा नवजातसहित दुई छोरी हुर्काउने जिम्मेवारी आएको छ । उता सिर्जनालाई नियमित चेकजाँच गरेकी डा.शर्मिलाले अपरेसन र उपचारमा कुनै कमजोरी नभएको दाबी गरिन् ।
‘सबै रिपोर्ट नर्मल थियो र हामीले अपरेसन गरेका हौं,’ अपरेसन गरेपछि उहाँमा युरिन भएन । त्यही भएर रिफर गरेका हौं । अकस्मात आएको जाटिलताले त्यो अवस्था आयो । लाखौंको डेलिभरी हुँदा निम्तिने जटिलतामध्ये एउटा हो यो । हाम्रो कुनै कमजोरीले त्यो अवस्थामा पुगेको होइन ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)