गुल्मी,साउन ८।
रेसुङ्गा नगरपालिकाद्वारा शुरु गरिएको ‘जाऊ हिँड रेसुङ्गा’ अभियानलाई साथ दिंदै तीज गीत बजारमा आएको छ । गुल्मेली राष्ट्रिय कलाकार सन्तु थापाको निर्देशनमा गुल्मीलाई जन्मथलो बनाई काठमाण्डौलाई कर्मथलो बनाएका गुल्मेली चर्चित गायक गायीकाहरूको शब्द, संगित, स्वर र नृत्यले सजिएको उक्त तिज गीत आईतबार बेलुकी मात्र बजारमा आएको हो ।
गुल्मीको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय रूरू क्षेत्र र रेसुङ्गाको प्रचार प्रसार गर्ने उद्देश्यले ‘जाऊ हिँड रेसुङ्गा’ सार्वजनिक भएको हो ।गीतले आम श्रोता र दर्शकहरू सहित स्वदेश र बिदेशमा रहेका आम गुल्मेलीहरूको मन जितेको छ ।
बिक्रमबाबु बिश्वकर्माको शब्द र नन्दु परियारको संगीत रहेको उक्त गीतमा सन्तु थापा, मञ्जु पौडेल, नन्दु परियार, पवित्रा सर्तुङ्गी मगर, सन्तोष क्षेत्री, बन्दना पाण्डे, आयुष कुँवर, शान्तारानी परियार, निर्मला थापा मगर लगायतको मिठो स्वर रहेको छ । गीतमा चर्चित राष्ट्रिय कलाकारहरू ‘फुलेन्दी कि आमा’ र श्याम राना मगरको उत्कृष्ट अभिनय देख्न सकिन्छ । भर्खर मात्र बजारमा आएको नयाँ तीज गीतले यतिबेला सामाजिक सञ्जालहरू तताएको छ ।
गीतको लयमा व्यक्त गरिएका शब्दहरूले जिल्लाको धार्मिक एवं पर्यटकीय स्थल रुरु र रेसुङ्गाको मिठो बर्णन गरिएको छ । त्यत्तिमात्र हैन सोही गीत मार्फत गुल्मीको कफी र थोर्गाको खुदो खाएपछि रूरू र रेसुङ्गाको उकालो चढेर साउने मेला हेर्नको लागि सबैलाई गुल्मीमा निमन्त्रणा समेत गरिएको छ ।
कलाकार सन्तु थापाले गुल्मेली कलाकारहरूलाई सामुहिक रूपमा जोडेर जिल्लाको पहिचानका लागि निकालेको गीतले गुल्मेली कलाकारहरूको उत्कृष्ट स्वर, कला र शैलीसँगै सिँगो जिल्लाको पहिचान बनाउन खोजिएको देख्न सकिन्छ । कलाकार थापाको नेतृत्वमा जिल्लावासी कलाकारहरूलाई समेटेर उत्कृष्ट गीत श्रृजना गरेकोमा गुल्मेली कलाकारहरू निकै खुसि बनेको गायीका मञ्जु पौडेलले बताईन ।
यसवाट कलाकारहरूबीच थप पनि थप आत्मीयता बढेको उनको भनाई छ ।गीतका निर्देशक कलाकार सन्तु थापाको युट्युब च्यानलबाट मार्फत उक्त गीत सार्बजनिक भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)