बुटवल,पुस २२ -
नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर गोरखादेखि काठमाडौंसम्म एकीकरण पदयात्राको सुरुवात गरेको छ।
पुस २७ गते जंगी अड्डामा २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमहरु समावेश गरि मनाउन लागिएको सन्दर्भमा गोर्खाली सेनाद्वारा विजय अभियानको लागि प्रयोग भएका पदमार्गहरु गोरखा देखि धादिङ, नुवाकोट हुँदै काठमाडौं जंगी अड्डासम्म सञ्चालन हुने ‘एकीकरण पदयात्रा आज गोरखा दरबारबाट सुरु भएको हो।
बिभिन्न स्थानहरुमा सांस्कृतिक कार्यक्रम, अन्तर्क्रिरया तथा प्रवचनको कार्यक्रमहरु समावेश रहने उक्त पदयात्राको दौरान राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै पृथ्वीनारायण शाहकालिन सैनिक पोशाकमा सोही समयमा खडा भएका नेपालका पहिला पाँचवटा युनिटहरुको निशान झन्डा संलग्न भएको छ।
कार्यक्रममा नेपाली सेना लगायत स्थानीय, सरकारी, गैर सरकारी निकायहरु र सर्वसाधारणको समेत सहभागिता रहेको छ। यस प्रकारका कार्यक्रमले नेपालको इतिहासको जगेर्ना गर्दै राष्ट्रिय एकताको भावनामा अभिबृद्धी हुने विश्वास नेपाली सेनाले लिएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)