काठमाडौं,साउन १ ।
नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) हिजाे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुभएको छ ।
राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा ओलीले चौथो पटक प्रधानमन्त्री पदको शपथ लिनुभएको हो। ओली संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो। यसअघि उहाँ २०७८ असार २९ मा प्रधानमन्त्रीबाट बहिर्गमन हुनुभएको थियो।
समारोहमा उपराष्ट्रपति रामसहाय यादव, पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका विशिष्ट व्यक्तित्व समारोहमा उपस्थित हुनुहुन्छ । प्रधानमन्त्रीको शपथग्रहणका लागि राष्ट्रपति भवनको प्राङ्गणलाई झकिझकाउ बनाइएको छ।
शपथ लिएसँगै मन्त्रिपरिषद् गठन :
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् गठन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्नुभएको थियो । सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १०, एमालेबाट ८, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ गरी २१ मन्त्री समेटिएका छन् ।दुई ठूला दल कांग्रेस र एमाले मिलेर सत्ता सहकार्य गरेसँगै जनतामा आशा पलाएको भएपनि गतिविधि सुध्रिनेमा शंसय पनि कायमै रहेको छ । राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले फरक ध्रुवमा उभिएका दलहरुको सत्तासहकार्यले पनि खास उपलब्धि हासिल गर्नसक्नेमा शंका व्यक्त गर्नुभएको छ ।
प्रमुख सत्ता साझेदार कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी भएको छ । साना पार्टी जसपा र लोसपाले मात्र सरकारमा स्थान पाएका छन् । नागरिक उन्मुक्ति पार्टी, जसपा र जनमतले ओली सरकारमा स्थान पाएनन् । २५ सदस्यीय मन्त्रिपरिषदमा अब ३ जना राज्यमन्त्री मात्र नियुक्त हुन बाँकी छ ।नागरिकमादेखिएको वितृष्णा चिर्न गठबन्धन भएपनि राजनीतिक बेइमानी सजिलै गरी समाप्त नहुने राजनीतिक विश्लेषक डम्बर खतिवडाको दाबी रहेको छ ।
प्रधानमन्त्री ओलीको शपथ कार्यक्रम माधव नेपालद्वारा ‘बहिस्कार’
प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रम पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बहिस्कार गर्नुभएको छ।
सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा प्रायः सबै शीर्ष नेता सहभागी भए पनि नेता नेपाल सहभागी नभएर बहिस्कार गर्नुभएकोहो ।
यद्यपि एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले काठमाडौँ बाहिर रहेकाले अध्यक्ष नेपाल शपथमा सहभागी नभएको बताउनुभयो।
कार्यक्रममा पूर्वप्रधानमन्त्रीको हैसियतमा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, बाबुराम भट्टराई भने सहभागी हुनुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)