बुटवल,असार ७ ।
आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । बुटवल १२ मा रहेको मुक्तिनाथ धाममा दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । धामका पिठाधिश लोकानन्द स्वामिको सान्निध्यतामा बुटवलका नगर प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो ।
बिहानको शिबिरमा सयौँको संख्यामा साधकहरूको सहभागिता रहेको थियो ।धाममा बिगत २ महिनादेखि बिहान दैनिक योग शिविर चलिरहेको छ ।संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो ।
महासभामा उक्त प्रस्ताव भारत सरकारले प्रस्तुत गरेको थियो । नेपाल सरकारले समेत दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)