बुटवल,जेठ २६ ।
तिलोत्तमा नगरपालिकाको आयोजनामा उद्यम ज्ञान तथा रोजगार सूचना मेला कार्यक्रम हुने भएको छ । तिलोत्तमा नगरपालिका वडा नं ९ मा अवस्थित बोधी भिल्लाको हलमा कार्यक्रम गर्न लागिएको नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा वडा अध्यक्ष गणेश पाठकले जानकारी दिए । मेला जेठ २७ गते आइतबार हुनेछ ।
तिलोत्तमा नगरभित्र रहेका युवा, विद्यार्थी,उद्यमसंग जोडिएका सबैलाई एकै ठाउँमा जम्मा पारेर उद्यमसँग जोडिन उत्प्रेरित गर्ने, उद्यमीहरुको सम्मान र उनीहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शन साथै निजी क्षेत्रसंग सहकार्य गरेर योग्यता, सीप दक्षता भएका व्यक्तिहरुलाई केही मात्रामा भएपनि रोजगार दिलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको संयोजक पाठकले बताए ।
बेरोजगार युवायुवतीहरुलाई स्थानिय सरकारले विभिन्न माध्यमबाट स्वदेशमै बसेर यही माटोमा केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गराउँदै यो कार्यक्रम सबैको लागि एक अवसर बन्न सक्ने कार्यक्रमका सदस्य तथा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक रवी सेन्चुरीले बताए ।
उनले अघिल्लो वर्षको कार्यक्रमले युवाहरुलाई रोजगारसंग जोडेको बताउँदै यो वर्ष पनि कार्यक्रम गर्न लागिएको बताउँदै सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।
युवाहरुलाई केन्द्रित गरिएको सो कार्यक्रममा उद्यम गरेका , लघु उद्यमसंग जोडिएका, सफल व्यापारी, उद्योगी, ज्ञान नवप्रबर्तन तथा आइडियाजहरु प्रस्तुत गरिने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाराम आचार्यले बताए । कार्यक्रमलाई सफल बनाउन तिलोत्तमाबासीहरुको सहयोग आवश्यक भएकोले यस कार्यक्रमलाई सुनौलो अवसरको रुपमा लिन संयोजक गणेश पाठकले आग्रह गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)