टीकापुर, जेठ २४ ।
हावाहुरीले ढलेको रुखले च्यापेर टीकापुर नगरपालिका–१ विशालनगरकी १५ वर्षीया प्याउरी विकको मृत्यु भएको छ ।
बुधवार राति ८ बजेतिर फुपूको घरबाट फर्किँदै गरेकी प्याउरीलाई आफ्नो घर नपुग्दै बाटैमा रुख ढलेर च्यापेको प्रत्यक्षदर्शी कर विकले जानकारी दिनुभयो । विक जनकल्याण आधारभूत विद्यालय लायकपुरमा कक्षा ७ मा पढ्दै हुनुहुन्थ्यो । उहाँको शव पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ ।
टीकापुर बहुमुखी क्याम्पसको जग्गामा भूमिहीन, सुकुम्वासीका रूपमा बसेका विशाल नगर, गणेशपुर, एकता नगरलगायतका शिविरमा बर्सेनि रुख ढलेर घर च्यापिने, मान्छेहरू घाइते हुने र मान्छेको ज्यान जाने घटना भइरहेका छन् । जङ्गल क्षेत्रमा बसेका मानिसहरूले रुख सुकाउन र दाउराका लागि फेद ताछ्ने गरेका छन् । पुराना र फेद ताछिएका रुखहरू ढल्ने र रुखको जरामा घर बनाएर बसेकाहरू च्यापिने गरेका छन् ।
सोही टोलमा जेठ २१ गते सोमबार राति आएको हावाहुरीले रुख ढलेर घर च्यापिँदा ७० वर्षका दलूँ पुरीको ज्यान गएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)