गुल्मी, जेठ २३ ।
गुल्मीको छत्रकोट गाउँपालिकाले स्थानीय विषयको पाठ्यक्रम सार्वजनिक गरेको छ । यस गाउँपालिकाभित्रको ऐतिहासिक स्थान, चाडपर्व, रीतिरिवाज, चालचलन, पेसा व्यवसाय, इतिहासदेखि हालसम्मको विकासक्रम, सम्भावना र चुनौती लगायतका विभिन्न विषयलाई समेटिएको कक्षा १ देखि ८ सम्मको लागि तयार पारिएको पाठ्यक्रम सार्वजनिक गरिएको हो ।
“हाम्रो छत्रकोट” नामक पाठ्यक्रम सार्वजनिक गर्नुहुँदै गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले नेपालको संविधानले व्यवस्था गरेको जिम्मेवारी अनुसार पाठ्यक्रम निर्माण गरिएको बताउनुभयो ।
उहाँले निमार्ण गरिएको स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा लैजान सफल भएको बताउनुभयो । पाठ्यक्रम निर्माणसँगै कार्यान्वयनमा चुनौती र जिम्मेवारी थपिएको भन्दै यहाँका शिक्षकहरू दक्ष, लगनशील र जिम्मेवार भएकाले लक्ष्य सजिलै प्राप्त हुने अध्यक्ष पाण्डेयले बताउनुभयो ।
त्यस अवसरमा गत शैक्षिक सत्र–२०८० मा आधारभूत तह र माध्यमिक तहमा उत्कृष्ट जिपिए प्राप्त गरेका विद्यार्थीलाई सम्मान गरिएको छ । आधारभूत तह परीक्षा उत्तीर्ण (कक्षा ८), माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण (कक्षा १०) र माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण (कक्षा १२) मा ३.२ जिपिए भन्दा माथि अङ्क ल्याउने ९९ जना विद्यार्थीलाई सम्मान गरिएको हो ।
दुईदेखिको लगातारको मेहनतले तयार पारिएको “हाम्रो छत्रकोट” नामक पाठ्यक्रम यस शैक्षिक सत्र–२०८१ गाउँपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठनका लागि लागू गर्न स्थानीय पाठ्यक्रम सार्वजनिक गरिएको छत्रकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख टीकाराम आचार्यले बताउनुभयो ।
यस गाउँपालिकाभित्र २८ वटा सामुदायिक, १ वटा संस्थागत विद्यालय र १४ वटा बालविकास केन्द्र रहेका छन् । यहाँका विद्यालयमा झण्डै ५२ सय विद्यार्थी अध्ययनरत छन् ।
उपाध्यक्ष सावित्रा ज्ञवालीले आजको दिन विशेष रहेको कुरा उठाई सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । पूर्व उपाध्यक्ष नर्मदा भण्डारीले हाम्रो पहिचान पाठ्यक्रममा समेटिएकोले खुसी लागेको विचार व्यक्त गर्नुभयो ।
सामाजिक विकास संयोजक गुणाकर ज्ञवालीले स्थानीय विषय र पहिचानको ज्ञान हुने कुरामा पाठ्यक्रम साधक बन्ने विश्वास व्यक्त गर्नुभयो ।
पाठ्यक्रम निर्माण समितिका तर्फबाट उत्तरकुमार पराजुली, डा. टंकप्रसाद पन्थ र डा.नारायणप्रसाद पन्थले पाठ्यक्रमका विषय क्षेत्र, सान्दर्भिकता, शिक्षण विधि मूल्याङ्कनको सन्दर्भलाई जोड दिई कार्यान्वयन पक्षमा सक्रिय सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपस्थित अतिथि र सहभागीहरूलाई स्वागत गर्ने काम प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले गर्नुभएको हो । कार्यक्रमको सञ्चालन शिक्षाशाखा प्रमुख टीकाराम आचार्यले गर्नुभएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)