बुटवल,जेठ १९ ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले २८ औँ स्थापना दिवसका अवसरमा बुटवलमा नागरिक संवाद कार्यक्रम गरेको छ । सुशासनका लागि नागरिक हस्तक्षेप आवश्यक भन्ने विषयमा नागरिक संवाद कार्यक्रम गरिएको छ ।
कार्यक्रममा सहभागीहरूले राजनैतिक दलहरू सत्ता स्वार्थमा लिप्त भएको र सुशासन स्थापना गर्न असफल रहेको भन्दै नागरिक समाजको भूमिका आवश्यक रहेको बताउनुभयो।
शनिबार बुटवलमा आयोजित सुशासनका लागि नागरिक हस्तक्षेप आवश्यक विषयक नागरिक संवाद कार्यक्रममा सहभागीहरूले राजनैतिक अस्थिरका कारण मुलुकमा आर्थिक सामाजिक लगायतका क्षेत्रमा विभिन्न समस्याहरू उत्पन्न भएको बताएका छन् । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले राजनैतिक दल र नागरिक समाज एकताबद्ध भएर सुशासन कायम गर्ने सङ्कल्पका साथ अघि बढेमा भ्रष्टाचार न्यूनीकरण गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार गोविन्द खनालले नेपालमा राजनैतिक परिवर्तनमा सहकार्य गरेका शक्तिबिच एकता नहुँदा सुशासन प्रवर्द्धनमा चुनौती थपिएको बताउनुभयो । स्थापनाकाल देखिनै लोकतन्त्रको सबलीकरणमा जोड दिँदै आएको शान्ति समाजले सुशासन कायम गर्न भ्रष्टाचार र अनियमितताको अन्त्यका लागि अभियान सञ्चालन गरिरहेको खनालले बताउनुभयो ।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटा, प्रदेश खेलकुद परिषद्का सचिव जयप्रकाश भट्टराई, प्रदेश चिकित्सक सङ्घका अध्यक्ष डा।कृष्ण खरेल, पत्रकार महासङ्घ रुपन्देहीका सचिव विनोद परियार लगायतले मुलुकमा राजनैतिक स्थिरताको अभाव हुँदा आर्थिक सामाजिक क्षेत्रमा समेत असर परेको बताउनुभयो ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्ण भट्टराईको सभापतित्व र सचिव कृष्ण पाण्डेको संचालनमा भएको कार्यक्रममा समाजका उपसभापति कपिल ज्ञवालीकोले दुइ पृष्ठको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति प्रजापाल गिरी, नेकपा माओवादी केन्द्रका महेन्द्र भुसाल, नेकपा माओवादीका शरद ओली, नेकपा एमालेका मेघराज भट्टराइ लगायतले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिलाउन सरकार असफल भएको भन्दै नागरिक समाजले हस्तक्षेपकारी भूमिका खेल्न आवश्यक रहेको चर्चा गर्नुभएको थियो ।
मानव अधिकार, लोकतन्त्र, शान्ति र अहिंसा भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै २०५३ सालमा स्थापना भएको मानव अधिकार तथा शान्ति समाजले पछिल्लो समय सुशासन प्रवर्द्धन र दण्डहीनता अन्त्यका लागि आवाज उठाउँदै आएको छ ।
कार्यक्रममामा करिब १ सय जना सराेकारवालाको सहभागिता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)