बुटवल,जेठ १३ ।
सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा अनुसन्धान प्रस्ताव लेखन र व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र सिद्धार्थ गौतम बुद्ध क्याम्पस अनुसन्धान व्यवस्थापन सेलको संयोजनमा जेठ ११ देखि कार्यशाला सुरू भएको थियो।
क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माको अध्यक्षता, क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष निर्मलप्रसाद लाकौलको प्रमुख आथित्यतामा भएको कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख विष्णुप्रसाद राना,पब्लिक क्याम्पस प्राध्यापक संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पस एकाइ सभापति गोपालप्रसाद चापागाईँ,सहायक क्याम्पस प्रमुख द्वय कृष्णप्रसाद खनाल र रामनाथ उपाध्याय लगायत क्याम्पसका प्राध्यापकहरूको उपस्थिति रहेको थियो।
कार्यशालामा रूपन्देही जिल्लाका यज्ञोदय दुधनाय थारू बहुमुखी क्याम्पस, देवदह आदर्श बहुमुखी क्याम्पस, महाकवि देवकोटा बहुमुखी क्याम्पस, वुटवल कालिका क्याम्पस र लुम्विनी वाणिज्य क्याम्पसका प्राध्यापकहरू लगाएतको सहभागिता रहेको थियो।
काठमाडौँ विश्वविद्यालयका प्रा.डा.लक्ष्मण ज्ञवालीले प्रशिक्षण दिनुभएको उक्त कार्यक्रममा बोल्दै क्यापस प्रमुख कृष्णप्रसाद शर्माले २१औँ शताव्दीमा अनुसन्धानात्मक ज्ञान र सीप प्राध्यापकहरूलाई अत्यन्त आवश्यक रहेकोले युग सुहाउँदो शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।
उहाँले सबै अनुसन्धानात्मक कार्यमा लागि रहनु पर्ने, जसले हाम्रो व्यक्तित्वको पनि विकास हुने र उत्पादित विद्यार्थीहरू पनि अव्बल जनशक्तिका रूपमा आफूलाई स्थापित गर्न सफल हुने भएकाले शैक्षिक धरोहरका रूपमा स्थापित यस क्याम्पसमा आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सम्पन्न गर्ने विचार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रमको सञ्चालन सिद्धार्थ गौतम बुद्ध क्याम्पस आरएमसी संयोजक उप प्राध्यापक सुमन घिमिरेले गर्नुभएको उप प्रा. शेषकान्त अर्यालले जानकारी दिनुभयो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)