काठमाडौँ,जेठ १ ।
जेठमा पनि निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरूले सोमबार प्रकाशन गरेको नयाँ ब्याजदर तालिकाअनुसार जेठका लागि बैंकको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.१८६ प्रतिशतले घटेको हो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १० वटाले जेठमा एक वर्ष व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् । दुई वटाले सीमान्त दरमा बढाएका छन् भने ८ वटाले स्थिर राखेका छन् ।
साधारण बचतमा बैंकहरूको ब्याजदर औसतमा ०.०९६ प्रतिशतले घटेको छ । जेठका लागि ९ वटा बैंकले साधारण निक्षेपको ब्याजदर घटाएका छन् भने एउटाले बढाएको र १० वटाले स्थिर राखेका छन् । यससँगै जेठमा वाणिज्य बैंकहरूको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसत ६.९११ प्रतिशत र साधारण निक्षेपको ५.४९१ कायम भएको छ । वैशाखमा मुद्दती निक्षेपको औसत ब्याजदर ७.०९६ र साधारणको ५.६९१ प्रतिशत थियो ।
जेठका लागि वाणिज्य बैंकहरूले एकवर्षे मुद्दती निक्षेपमा अधिकतम ७.८० प्रतिशत र न्यूनतम ५.७५ प्रतिशत ब्याज दिनेछन् । साधारण निक्षेपमा अधिकम ६.६६ प्रतिशत र न्यूनतम ३ प्रतिशत ब्याजदर तय गरेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आगामी महिनाका लागि अघिल्लो महिनाको अन्तिम दिनभित्रै ब्याजदर सार्वजनिक गर्नुपर्नेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)