Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

उपचाररत किरण थापाको मृत्यु भएपछि चौराह अस्पताल घेराउ

उपचाररत किरण थापाको मृत्यु भएपछि चौराह अस्पताल घेराउ

  • 750
    SHARES

  • उपचाररत किरण थापाको मृत्यु भएपछि चौराह अस्पताल घेराउ

    बुटवल,बैशाख २९ ।

    उपचारको क्रममा लापरवाही भएको भन्दै बिरामीका आफन्तहरुले बुटवलको चौराह अस्पताल घेराउ गरेका छन् । तिलोत्तमा–२ का किरण थापाको उपचार गर्ने क्रममा चिकित्सकले लापरवाही गरेको भन्दै आफन्तहरुले उचित क्षतिपूर्तिको मागसहित कालिकानगरस्थित अस्पताल घेराउ गरेका हुन्।

    ५ महिना अघि गत मंसिर २७ गते साँझ स्कुटर दुर्घटनमा परी चौराह अस्पतालमा उपचार गराउन पुगेका किरणको खुट्टा फ्याक्चर भएको देखिएपछि चिकित्सकले अप्रेशन गरेका थिए । मंसिर २८ गते अप्रेशनपछि ५ दिनसम्म अस्पतालमै बसेका किरण घर फर्किएर करिब २ साता फलोअपका लागि अस्पताल जाने गरेको किरणका आफन्त बताउँछन् । अन्तिममा चिकित्सकले थप उपचारका लागि अन्यत्र रेफर गरेका थिए ।

    उक्त समयसम्म खुट्टाका सबै मासु कुहिएर फाल्नु पर्ने स्थितीमा पुगेको र अहिले काठमाडौंकै एक अस्पतालमा उपचारपछि नियमित फलोअपमा रहँदा लाखौ रकम खर्च भएको भन्दै आफन्तहरुले उपचारमा लापरवाही गर्दा यस्तो स्थिती आएको भन्दै क्षतिपूर्ति माग गरेका छन् ।

    बिरामीका दाजु दिवाकर थापाका अनुसार अस्पतालले सुरुमा क्षतिपूर्ति बापत उपचार खर्च दिने मौखिक सहमती गरे पनि हाल आएर उक्त सहमती अनुसार क्षतिपूर्ति दिन नमानेपछि आफूहरुले अस्पताल घेराउ गर्नुपरेको दाबी गर्नुभयो । ‘सुरुमा के कति खर्च हुन्छ त्यसबापतको रकम दिने विषयमा हेर्छौ भनेर भनियो । अहिले आएर रकम क्षतिपूर्ति दिँदैनौं जे गर्न सक्छौं गर, भन्ने ढङ्गको कुरा आउन थालेपछि बाध्य भएर अस्पताल घेराउ गर्नू परेको हो ।’–किरणका दाजु दिवाकरले भन्नुभयो ।

    अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृत जनक कुँवरले भने क्षतिपूर्ति दिने विषयमा कुनै पनि सम्झौता नभएको दाबी गर्नुभयो । उपचारका क्रममा कुनै कमजोरी भएमा कानूनी उपचार खोज्ने बाटो खुला रहेको बताउँदै उहाले त्यसका लागि आफूहरु तयार रहेको उल्लेख गर्नुभयो । अस्पतालका हाड जोर्नी तथा नशारोग विभाग प्रमुख प्रकाश रानाभाटले पीडित भनिएका बिरामीलाई मानवीय हिसाबले केही सहयोग गर्न आफूहरु तयार रहेको प्रतिक्रिया दिनुभयो ।

    ‘हामीले गल्ती नै नगरी क्षतिपूर्ति दिने भन्ने कुरा हुँदैन । बिरामीको अवस्था र आर्थिक स्थिती अनुसार मानवीय समवेदनाका हिसाबले केही सहयोग गर्ने कुरा मात्रै हो ।’–रानाभाटले भन्नुभयो, ‘यदी उहाँहरुले हामीलाई गल्तीनै गरेको ठान्नुहुन्छ भने कानूनी उपचार र अनुसन्धानका लागि हामी तयार छौं ।’

    शुक्रबार ठूलो भिडसहित अस्पताल घेराउ गर्न आएका समूहलाई भोली शनिबार छलफलका लागि बोलाउने सहमतीपछि घर फर्काइएको थियो । सम्भावित घटनालाई मध्यनजर गरी ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोली सुरक्षाका लागि अस्पतालमा खटिएको थियो ।

    अस्पतालमा बारम्बार क्षतिपूर्तिको मागसहित आउन थालेपछि ईलाका प्रहरी कार्यालय बुटवललाई सुरक्षाका लागि १ महिनाअघि निवेदन गरिएको अस्पतालका प्रशासन प्रमुख सन्तोष गुप्ताले बताउनुभयो । विगत ५ महिनादेखि अस्पताल र बिरामीका आफन्त बीच क्षतिपूर्तिको विषयमा विवाद हुँदै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology