बुटवल, वैशाख २८ ।
प्रतिष्ठित सामुदायिक शिक्षण संस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलको अतिरिक्त क्रियाकलाप समितिले मातातिर्थ औसिको अवसर पारेर आज आमा शिर्षकमा कविता बाचन प्रतियोगिता सम्पन्न गरेको छ ।
अतिरिक्त क्रियाकलाप समिति संयोजक तिर्थराज काफ्लेको अध्यक्षतामा आयोजित उक्त प्रतियोगिताको सन्चालन उप प्राध्यापक टीकाराम घिमिरेले गर्नुभएको थियोे भने प्रतियोगितामा उपस्तिथि सम्पुर्णलाई उप प्राध्यापक बिजु पछाइले कविता बाचनद्वारा नै स्वागत गर्नु भएको थियो ।
प्रमुख अतिथिको रूपमा बोल्दै क्याम्पस प्रमुख कृष्ण प्रसाद शर्माले ब्रह्माण्डकै सबैभन्दा अमुल्य र कसैसंग तुलना नै गर्न नसकिने आमा भन्ने शब्द नै सबैको लागि प्रेरणादायी रहेको र आमाले देखाएको संस्कारको शिरोधार्य गर्दै वहाँहरुले देखेका सपना सबै सन्ततिहरुले पूरा गर्न अग्रसर हुनुपर्ने धारणा राख्नु भएको थियो । प्रतियोगितामा विशिस्ट अतिथिको रुपमा बोल्दै पब्लिक क्याम्पस प्राध्यापक संघका सभापति गोपाल प्रसाद चापागाईंले आमाले सिकाएको अनुशासन पालना गर्न र आमाले देखाएको सहनशीलता हामीले हाम्रो जिबनमा कार्यान्वयन गर्न सकेमा हामी र हाम्रो समाज सभ्य र सफल हुने कुरा व्यक्त गर्नु भएको थियो ।
क्याम्पसको सभाहलमा आयोजित उक्त प्रतियोगितामा करिब २०० जना विद्यार्थी, १५ जना प्राध्यापक र ५ जना कर्मचारीको उपस्थितिमा रहेको थियो भने निणायकको भुमिका उपप्राध्यापकहरु श्री मनोज प्रसाद सापकोटा, बिजु पछाइ र शेषकान्त अर्यालले निर्वाह गर्नु भएको थियो ।
प्रतियोगितामा प्रथम स्थान श्री उषा सारु बिएड तृतीय, द्वितीय स्थान श्री भुवन पन्थी बिएड चौथो र तृतीय स्थान श्री राधिका रेग्मी बिबिएस दोश्रो ले हासिल गर्नु भएको थियो र प्रतियोगितामा विजयी प्रतियोगीलाई क्याम्पस प्रमुखद्वारा प्रमाणपत्र र पुरस्कारबाट सम्मानित गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)