बुटवल,बैसाख १८ ।
बुटवल जेसीजले एसईइ दिएर बसेका करिब २५० विद्यार्थीहरुको लागि भविष्य निर्धारण सम्बन्धि तालिम प्रदान गरेको छ । जेसीज वर्ष २०२४ का अध्यक्ष विनोद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशिक्षक लाइफ कोच प्रितम पौडेल रहनुभएको थियो ।
साथै कार्यक्रममा प्रमुख वक्ताको रुपमा उपस्थित स्वास्थ विज्ञान मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष प्रकाश राना, सामुदायिक विद्यालय व्यवस्थापन समिती महासंघ लुम्बिनी प्रदेश अध्यक्ष सरद भट्टराई, प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डे र हिसान रुपन्देही अध्यक्ष दिनेश भुसालले १०र१० मिनेटमा आफ्नो वक्तव्य राख्नु भएको थियो ।
अध्यक्ष विनोद घिमिरेले कार्यक्रममा बोल्दै बुटवल जेसीजले व्यक्तित्व र नेतृत्व विकास सँगै व्यक्तिलाई उद्यमशिलता सँग जोड्ने हेतुले तालिमहरु प्रदान गर्दै आएकोमा माध्यमिक शिक्षा परिक्षा पश्चात् उर्वर उमेरलाई अन्यौलता र अनविज्ञतालाई चिरेर सही मार्गनिर्देशनको मलजलका निम्ति कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।
उहाँले रटेर घोक्ने शिक्षाको अन्त्य गरि प्रश्नहरुको अन्तर्कृया गरि आफू बाटै सिकाइको सुरुवातका साथ लक्ष्य प्राप्तिमा होमिन सक्ने आत्मविश्वास आफू स्वयंमा हुनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले भन्नुभयो – ” पछिल्लो समयमा शिक्षा प्रणालीमा प्रश्न चिन्ह खडा भएको परिस्थितिमा रहेता पनि सिकाईको सुरुवात स्वयं आफू बाट हुन जरुरी छ ।
अबको सिकाई रटेर घोकेर होइन, प्रश्न गरि अन्तरक्रिया बाट हुनुपर्छ । शिक्षा केबल किताबी ज्ञान नभई, व्यवहारिक ज्ञान समेत भएकाले परिस्थिति सँग जुध्न सक्ने आत्मविश्वासको अपनत्व हुने सिकाई जरुरी छ ।”
कार्यक्रममा प्रमुख प्रशिक्षक प्रितम पौडेलले एसईइ परीक्षा पश्चात् नतिजा कुरेर बसेका विद्यार्थीहरुको लागि भविष्य निर्धारण सम्बन्धि तालिम प्रदान गर्नुभएको थियो । वहाँले औपचारिक कार्यक्रममा समेत आफ्नो धारणा राख्दै जिवनमा विगतले प्रभाव नपार्ने बताउँदै उज्ज्वल भविष्यको परिकल्पना गर्न छाड्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ” विगतले असर गर्दैन, सोच्न सकिन्छ भने त्यहा पुग्न सकिन्छ, सोच्न सकिएन भने त्यहा पुग्न सक्दै सक्दैनौं । अफर र अरुको पछाडी नलागी आफू अघि बढ्नुपर्ने सहि उमेर यहीँ हो । हामिले तीन कुराहरु – सास फेर्न, खाना खान, र पढ्न कहिल्यै अल्छि गर्नु हुँदैन । जसले तालिममा बढी पसिना बगाउँछ उसले युद्धमा कम रगत बगाउँछ ।
त्यसैगरी बुटवल जेसीजका पूर्व अध्यक्ष तथा बोर्फ अफ ट्रष्टीजका अध्यक्ष सिनेटर निर्मल प्रसाद लाकौलले आफ्नै देशमा भविष्य खोजी मार्गनिर्देशनका लागि कार्यक्रम गर्व गर्न लायक भएको बताउनुभयो ।
त्यसैगरी बुटवल जेसीज तथा नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर जगत बहादुर पोख्रेलले भविष्यका कर्णधार विद्यार्थीहरुलाई आत्मविश्वास बढाउन कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण रहेको बताउँदै शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उपस्थित बुटवल महिला जेसीज अध्यक्ष जेसी संगिता ढकालले भविष्यको पहिचान सहि समयमा गर्न नसक्दा जिवनका लक्ष्य प्राप्तिमा बाधा पर्ने बताउँदै सहि समयमा सहि निर्णय लिनुले भविष्य निर्धारण गर्ने बताउनुभयो ।
कार्यक्रममा वक्ताको रुपमा उपस्थित स्वास्थ विज्ञान मञ्च लुम्बिनी प्रदेश अध्यक्ष प्रकाश रानाले दश मिनेटमा आफ्नो मन्तव्य राख्दै राज्यको नीति बेठिक हुँदा लामो समयसम्म नतिजा कुर्नुपर्ने र उक्त समय खेर जाने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ र शिक्षा निशुल्क भएका देशहरु विकसित भएको उदाहरण दिँदै नेपालमा पनि निशुल्क स्वास्थ र शिक्षा नीति आवश्यक रहेको बताउनुभयो । साथै युवा पलायन रोकी शिक्षालाई प्रयोगमा ल्याई देश विकास गर्न प्राविधिक तथा जीवन उपयोगी शिक्षा नीति ल्याउन ढिला गर्न नहुने कुरामा समेत जोड दिनुभयो ।
अर्का वक्ताका रुपमा बोल्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष सरद भट्टराईले सिकाई वैयक्तिक कुरामा भर पर्ने र विशेषगरि भयले भविष्य संकटमा पुर्याउने हुँदा भयरहित हुन आवश्यक रहेको जोड दिनुभयो । विपि कोईरालाको भनाई मानिस ठूलो होइन् असल बन्नुपर्छ भन्ने भनाई सम्झदै आफ्नो जिवनको जिम्मेवार आफू स्वंम भएकाले भयरहित भई आत्मविश्वासका साथ अगाडी बढेमा लक्ष्य प्राप्ती निश्चित हुने बताउनुभयो ।
त्यसैगरी प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डेले कार्यक्रम जिवनका पाइला खोज्ने तालिम रहेको बताउँदै प्रचुर सम्भावना रहेको देश नेपालमा अभिभावकत्वको कमि भएको बताउनुभएको छ ।
हिसान रुपन्देही अध्यक्ष दिनेश भुसालले जेसीजमा जोडिएर जीवन सँग सम्बन्धित महत्त्वपूर्ण तालिमहरुमा सम्मिलित हुन सकिने पोर्टफोलियो रहेको बताउनुभयो । उहाँले कक्षा १० पछि विषय छनोटमा दुविदा हुने र यसले जिवनमा महत्त्वपूर्ण प्रभाव पर्ने हुँदा यसमा देखासिखी नगरी गम्भीर बन्नुपर्ने समेत बताउनुभयो ।
मंगलबार सम्पन्न उक्त कार्यक्रमको संचालन बुटवल जेसीजका महासचिव जेसी केशव श्रीस मगरले गर्नुभएको थियो कार्यक्रमको संयोजकत्व उपाध्यक्ष जेसी प्रकाश गैरेले गर्नुभएको थियो । औपचारिक कार्यक्रम अन्तर्गत उपाध्यक्ष जेसी मनोजलाल श्रेष्ठको आस्था वाचन रहेको थियो भने उपाध्यक्ष जेसी अनिल पौडेल चुदालीले जेसीज मिसन र भिजन वाचन गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)