कौरव खत्री /बागलुङ,बैशाख २ ।
बागलुङको कालिका भगवती मन्दिरमा लाग्ने ऐतिहासिक चैत्राष्टमी मेलालाई लक्षित गरी नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
कालिका भगवती गुठी व्यवस्थापन समितीको आयोजनामा वैशाख १ गतेदेखि मेला अवधीभर नेपाली सेना अन्तरगत बागलुङ्ग जिल्लामा तैनाथ श्री नं २३ बाहिनी अड्डाको संयोजकत्वमा श्री श्रीमेहर गण र श्री नं २३ फिल्ड गुल्मको संयुक्त प्रयासमा उक्त शिविर आयोजना गरिएको हो ।
कालिका मन्दिर दर्शनको लागि आउने दर्शनार्थी तथा मेला अवलोकनको लागि आउने भक्तजनहरुलाई वैशाख १ गते शनिवारबाट स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको हो ।
श्री श्रीमेहर गणका गणपति प्रमुख सेनानी धन राना मगरका अनुसार मेला अवधिभर उक्त शिविर सञ्चालन हुनेछ । शिविरबाट मन्दिरमा आउने श्रद्धालुहरुको स्वास्थ्यमा समस्या आएमा सामान्य देखि आकस्मिक स्वास्थ्य सेवा संगै जटिल समस्या भएकाहरुलाई तत्काल उपचारको लागि अस्पताल लैजान सहयोग पुर्याउने उहाँको भनाई छ ।
कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले मेला अवधिभर नेपाली सेनाको यस किसिमको स्वास्थ्य सेवा केन्द्र स्थापना भई मन्दिर दर्शनार्थी र मेला अवलोकनकर्ताको स्वास्थ्यमा विशेष ध्यान दिई बागलुङ जिल्लामा आयोजना भएको ऐतिहासिक चैत्राष्टमी मेलालाई सफल तथा व्यवस्थित बनाउन सहयोग पुगेको बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)