बुटवल,चैत्र २९ ।
काठमाडौँमा बिगत ६ महिनादेखि सेवा दिँदै आएको ई ड्राइभ नेपाल प्रालिले आफ्नो सेवा लुम्बिनी प्रदेशमा शुभारम्भ गर्ने भएको छ । अनलाइन ट्याक्सी तथा बाइक सेवा दिने गरी ई ड्राइभ नेपाल प्रालिले आफ्नो सेवा लुम्बिनी प्रदेशमा शुभारम्भ गर्ने भएको रुपन्देहीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
बुटवल भैरहवा लगायतका मुख्य शहरमा वैशाखको पहिलो हप्तादेखि सेवा बिस्तार गर्ने ई ड्राइभ नेपाल प्रालिका अध्यक्ष राजेश मास्केले बताउनुभयो । उहाँले इलेक्ट्रिक सवारी साधनमा जोड दिने गरी सेवा शुरु गर्ने बताउँदै लुम्बिनी प्रदेश पछि अन्य प्रदेशमा पनि सुरुवात गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष मास्केले चालकको पहिचान मिल्ने गरी सवारीमा स्टिकर, चालकलाई ज्याकेट समेत उपलब्ध गराइने बताउनुभयो ।अनलाइन सवारीमा दुर्घटनामा घाइते भए ७० हजार रुपैयाँ र मृत्यु भएको खण्डमा ७ लाख रुपैयाँ बराबरको तेस्रो पार्टीबाहेकको ईन्सुरेन्सको व्यवस्था रहने छ ।
ई ड्राइभ लुम्बिनी प्रालिका अध्यक्ष राजकुमार गुप्ताले नेपालमै तयार भएको एप र मुख्य गरी बिजुली गाडीलाई प्राथमिकता राखिएको जानकारी दिनुभयो ।सुरुमा बुटवल र भैरहवामा सुरु गर्ने र त्यसपछि कपिलवस्तु , पाल्पा , नवलपरासीको बर्दघाटसम्म चलाइने बताउनुभयो । ‘नेपाल सरकारबाट निर्धारण गरिएको भाडा दर नै कायम गरिने छ ,स्थानीय युवाहरूलाई आफ्नै ठाउँमा रोजगारको अवसर दिने छौँ ।’ उहाँले भन्नुभयो ।
हाललाई दर्ता शुल्क नराखिएको भन्दै केही समयपछि भने न्यून शुल्क राखिने कम्पनीले जनाएको छ । प्रालिका डाइरेक्टर विशाल भण्डारीले सेवा शुभारम्भको अवसरमा राईडमा ५० प्रतिशत छुट रहने बताउनुभयो ।
आगामी दिनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्ग हुँदै आउने पर्यटक सम्पूर्णलाई छिटोछरितो, विश्वासिलो र भरपर्दो सवारीको लागि सम्पूर्ण सुविधा पुगोस् भन्ने सोचका साथ अगाडि बढेको कम्पनीको दाबी छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)