बुटवल,पुस १३-
पाल्पामा नेकपा दाहाल–नेपाल समूहले सरकार विरुद्ध शसक्त आन्दोलन गर्ने निर्णय गरेको छ । समूहले बहुमत सदस्य आफूतर्फ भएको भन्दै नेकपा जिल्ला कमिटिको चौथो बैठकले यस्तो निर्णय गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
जिल्ला सचिव राजेन्द्र विकको अध्यक्षतामा भएको बैठकमा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेय, अर्का केन्द्रीय सदस्इ तुलाराम घर्ती (बसन्त) जिल्ला सह–इन्चार्ज तथा केन्द्रीय सदस्य ठाकुर गैरे लगायतको सहभागिता थियो ।
प्रदेस कमिटि सदस्य यादव बहादुर रायमाझी, नेत्र पाण्डे, गिरबहादुर थापा (विरवल), जीतबहादुर मश्राङ्गी, जानुका घर्ती, चक्रव्यूह थापा, जिल्ला सल्लाहकार लेखनाथ पोखरेल, अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य राजेन्द्र लक्ष्मी गैरे, जिल्ला कार्यालय सदस्य कमल पाण्डे, सदस्य मथुरा ढकाल लगायतले सरकारको निर्णयले अहिले पार्टीलाई अस्थिरता र अराजकता तर्फ धकेल्न केपी ओली समूह लागेको बताए ।
उनीहरुले सत्ताको धङ्धङ्गी र विभिन्न प्रलोभन र स्वार्थको पछि नलाग्न सबै कार्यकर्तामा आग्रह गरेको सचिव राजेन्द्र विकले जारी गेको विज्ञप्तिमा छ ।
स्रोतका अनुसार १ सय ४४ जिल्ला कमिटि सदस्यमा ७७ जनाको उपस्थिति रहेको थियो । बैठकले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट स्वीकृत भई संघीय संसद प्रतिनिधि सभा संसद विघटन गर्ने निर्णय प्रतिगामी, असंवैधानिक, अलोकतान्त्रिक, पश्चगामी एवम् स्वेच्छाचारी कदम ठहर गर्दै उक्त गैरसंवैधानिक निर्णयको विरूद्ध शसक्त संघर्ष गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
संविधानको व्याख्या गर्ने जिम्मेवारी प्राप्त अंग सर्वोच्च अदालत साथै राजनैतिक दलको बैधानिकताबारे निर्णय गर्ने निकाय निर्वाचन आयोगबाट हाम्रो संविधान ऐन, नियम र कानून बमोजिम न्याय संगत फैसला हुने विश्वास जिल्ला कमिटिले गरेको उल्लेख छ ।
निरंकुश प्रतिगामी र असंवैधानिक कदमका विरूद्ध सबै राजनीतिक दल, पेशागत संघ, संगठन नागरिक समाज, मिडिया सबैलाई आन्दोलनमा साथ दिन अपिल गरेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार यही १४ गते तानसेनमा हुने वृहत जनप्रर्दशनमा सहभागीताका लागि आग्रह गरेको छ ।
उता, दाहाल–नेपाल समूहले जिल्ला कमिटिको चौथो बैठक बोलाएपछि नेकपा जिल्ला अध्यक्ष नारायण आचार्यले भने कुनै पनि बैठक तथा भेला नराखेको सामाजिक सञ्जालमार्फत् नै जानकारी गराएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)