काठमाडौँ,चैत १ ।
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देश समृद्ध बनाउन नयाँ तरिकाबाट सोच्नुपर्ने आवश्यकता भएको बताएका छन्। बिहीवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले बहुदल ल्याएको ३४ वर्षसम्म पनि कुनै नेताले मुलुकको विकासका लागि नसोचेको बताए।
उनले 'वादेवादे जायते तत्व बोध' भन्ने कुरामा विश्वास गरेको पार्टी कांग्रेसले संसद् बन्द गर्नु नहुने बताए। उनले भने, ‘क्रस पार्टीहरुसँग पनि सरसल्लाह गरेर हामी अब नयाँ तरिकाबाट मुलुकलाई अघि बढाउने काममा जाँदैछौँ। जसले वादेवादे जायते तत्वबोध भन्ने कुरामा विश्वास गरेको छ, त्यो पार्टीले संसद् बन्द गर्नु हुँदैन।'
उनले सिद्धान्ततः सदन बन्द गर्नु गलत भएको र लोकतान्त्रिक शक्तिले सदन बन्द गर्न नहुने बताए। '३४ वर्ष भयो हामीले बहुदल ल्याएको यो समयमा कुनै पनि नेताले मुलुकको बारेमा सोचेन। चिन्ता गरेन। जबसम्म अहिलेको नेतृत्व, कर्मचारीतन्त्र र संवैधानिक व्यक्तिमा नयाँपन ल्याउन सक्दैनौँ तबसम्म मुलुक समृद्ध हुन सक्दैन’, उनले थपे।
उनले अहिलेको नेतृत्व, कर्मचारीतन्त्र र संवैधानिक व्यक्तिमा नयाँपन ल्याउन नसकेसम्म देश समृद्ध हुन नसक्ने पनि बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)