बुटवल,फागुन २९ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बुटवल नगर कमिटीको आयोजना सोमबार बुटवलमा सम्पन्न प्रथम अखिल कप अन्तर मावि बास्केटबल प्रतियोगिताको उपाधी न्यु भिजन माविले जितेको छ । बुटवल–११ देविनगरस्थित भुपु सैनिक क्लबको मैदानमा सम्पन्न प्रतियोगितमा न्यु भिजनले अक्सफोर्ड माविलाई पराजित गरेको हो ।
विजेता बनेको न्यु भिजनले नगद राशी ३३ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी उपविजेतामा सीमिति अक्सफोर्ड मावि ‘ए’ टिमले नगद २२ हजार राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बुटवल उपमहानगरका विभिन्न विद्यालयहरु गरी १२ टिम सहभागी प्रतियोगिताको सेमिफाइनलमा न्यु भिजनले मणिमुकुन्द मावि ‘ए’ टिमलाई पराजित गरेको थियो भने अक्सफोर्डले न्यु होराइजन माविलाई पराजित गरेको थियो । हाफ कोर्टमा ३÷३ जना खेलाइएको प्रतियोगितामा न्यु भिजनका सुप्रिम थापा मोस्ट भ्यालुएवल खेलाडी बन्न सफल भए भने सुमित राना हाइ स्कोरर बन्न सफल भए ।
यसअघि प्रतियोगिताको समुद्घाटन गर्दै अनेरास्ववियु केन्द्रीय कोषाध्यक्ष संगम अर्यालले खेलको माध्यमबाट विद्यार्थीको चौतर्फी बिकासमा संगठनले क्रियाकलापलाई थप बढाउने उल्लेख गरे । स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद भन्ने मूल नारासँगै सबै युवा विद्यार्थीहरुलाई संगठित गर्नुपर्नेमा उनले जोड दिए । यसैगरी नेकपा एमाले बुटवल नगर कमिटीका अध्यक्ष किशन ज्ञवाली, युवा नेता बाबुराम पन्थी, अनेरास्ववियु स्थाई कमिटी सदस्य लेखनाथ खनाल, रुपन्देही अध्यक्ष रोशन घिमिरे तथा युवा संघ रुपन्देही अध्यक्ष बिकासजंग बस्नेत लगायतले बोल्दै खेलकूद तथा अतिरिक्त क्रियाकलापहरुलाई अनेरास्ववियुले थप वृद्धि गर्नुपर्नेमा जोड दिए । कार्यक्रम संयोजक विशाल थापाको अध्यक्षता तथा अनेरास्ववियु सदस्य प्रतिमा पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)