बुटवल,फागुन १८ ।
यातायात व्यवस्था सेवा कार्यालय भैरहवा, रुपन्देहीबाट प्रदान गरिदै आएको आर.टी. ओ (पटके शाखा) सेवा सिद्धार्थनगर–१, बेलहियास्थित भैरहवा भन्सार कार्यालय परिसरबाट सञ्चालन भएको छ ।
पटके शाखाको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भारतबाट आएका सेवाग्राही धु्रव सिंहलाई सवारीसाधनका लागि बाटो इजाजतपत्र (पटके) दिदै उक्त शाखाको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले कहिलेकाही साधारण कुराले असाधारण अर्थ राख्ने बताए । उनले पटके काट्न केही टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै भन्सार परिसरमा सुरु भएको शाखाले पर्यटकलाई सहजता प्रदान गर्ने बताए ।
यातायात व्यवस्था सेवा कार्यालय भैरहवाका प्रमुख ईश्वरचन्द्र अर्यालले पटके सेवाले प्रदेशको राजस्वमा केही वृद्धि हुने विश्वास व्यक्त गरे । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले पर्यटकलाई कसरी सेवासुविधा दिन सकिन्छ भन्ने दृष्टिकोणबाट प्रमुख जिल्ला अधिकारीज्यूको अग्रसरताबाट पटके शाखा सञ्चालनमा आएको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले पर्यटकलाई सास्ती भयो र भन्सार कार्यालय परिसरबाट पटके सेवा सुरु गर्नुपर्छ भनेर प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेको स्मरण गरे ।
उनले यसले भारतीय पर्यटकलाई सुविधा प्रदान गर्ने विश्वास गरे । सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि.का सञ्चालक सियाराम यादवले प्रमुख जिल्ला अधिकारीज्यूको नेतृत्वमा सराहनीय काम भएको बताए । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठ, सिद्धार्थ होटल एशोसियसन नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, सिद्धार्थ सञ्जाल, रुपन्देहीका महासचिव संजय बजिमयले भन्सार परिसरमै पटके सेवा सञ्चालनलाई सकारात्मक रुपमा लिएको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)