बुटवल,फागुन १५ ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पताललाई पश्चिम क्षेत्रका जनताले सबै विशिष्टिकृत स्वास्थ्य उपचार प्राप्त गर्ने सक्ने अस्पतालको रुपमा बिकास गरिने बताएका छन् ।
अस्पतालमा बन्न लागेको अत्याधुनिक संरचनासहितको १० तल्ले नयाँ भवन निर्माण समयमै सक्नुपर्नेमा जोड दिँदै उनले निर्माण कम्पनीबाट प्रतिवद्धता अनुसारको काम हुनेमा विश्वास व्यक्त गरे । अस्पतालको ११४ औं वार्षिकोत्सवको अवसरमा मँगलबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री खनालले लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको योजना अनुसार अगाडि बढाउने प्रयास अनुसार सरकारले काम गरिरहेको उल्लेख गरे ।
लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री सुदर्शन बरालले अस्पतालको बिकासका लागि आफ्नो पालामै गुरुयोजना तयार भएर काम अघि बढेको बताउँदै विगतका प्रतिवद्धता सरकारले पालना गर्नुपर्नेमा जोड दिए । अस्पतालको नियमित आर्थिक स्रोतको रुपमा रहेको व्यवसायिक सटरहरु भत्काएर गुरुयोजना अनुसार काम अघि बढेको अवस्थामा त्यसबापतको शोधभर्ना प्रदेश सरकारले उपलब्ध गराउनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका मुख्यन्यायधिवक्ता बुद्धबहादुर थापा, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. जनार्दन पन्थी लगायतले अस्पतालमा बन्ने १० तले नयाँ भवनको काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले स्वागतसहित वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
अस्पतालले चालू आर्थिक वर्षमा मात्रै करिब डेढ दर्जन बढी सेवा बिस्तार गरेको उनले बताए । १५ बेड क्षमताको एसएनसीयू स्थापना, ६ बेड क्षमताको पीआईसियू स्थापना, ८ बेडको एनआईसीयूलाई १२ बेडमा बिस्तार, बर्थिङ सेन्टर स्थापना, क्याथल्याव संचालन, इन्टेरेस्कोप सञ्चालन, बालउद्यान स्थापना लगायतका उपब्धि बारे मेसु थापाले जानकारी गराए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)