बुटवल,फागुन १३ ।
पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारकै कारण मुलुकमा आर्थिक क्रियाकलाप ठप्प भएको दावी गरेका छन् ।
यसअघि सरकारले थालेका महत्वपूर्ण आयोजनाको बजेट कटौती गरेर अस्तव्यस्त पारेको, आन्तरिक सुशासनलाई पूरै बेबास्ता गरेको बताउँदै पौडेलले अहिलेको सरकारकै कारण मुलुकमा आर्थिक क्रियाकलाप ठप्प हुनुका साथै विकासका महत्वपूर्ण कामहरू सबै रोकिएको दावी गरे । आइतबार बुटवलको नहरपुर माविमा भारतीय सरकारको सहयोगमा निर्मित भवनको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले जनताको समृद्धिको चाहना रोक्ने सरकारका गलत कामका विरूद्ध पार्टीले सदन र सडकबाट खवरदारीको विकल्प नभएको समेत स्पष्ट पारे ।
‘सरकारकै कारण आर्थिक गतिविधि संकटोन्मूख भएका छन्’ पौडेलले भने, ‘राष्ट्रियताप्रति अत्यन्त कमजोर, सुशासनप्रति कमजोर छ । विकासप्रति चासो नै छैन ,चालू अवस्थामा रहेका विकासका आयोजनाहरुको बजेट सरकारले काट्दा धेरै योजनाहरु अलपत्र परेको पौडेलले बताए । सुरु भएका शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका आयोजनाको बजेट काटिएको छ । अब खवरदारी गर्नुपर्ने अवस्था आयो ।’
बुटवलमा विकासका ठूला पूर्वाधार बनिसकेकोले अब आफ्नो ध्यान मानवीय विकासतर्फ केन्द्रित हुने पौडेलको भनाइ छ । रुपन्देहीमा विकाससँग शैक्षिक सुधारमा आमूल परिवर्तन आएको छ ।’ यस क्षेत्रका विकासमा तिनै तहका जनप्रतिनिधिहरु मिलेर काम गर्ने नेता पौडेलको भनाइ छ । ‘रूपन्देहीमा विकासका काम करिब करिब सकिएका जस्तो लाग्छ’ पौडेलले भने, ‘झुम्साखोला खानेपानीको काम अब आउने चरणमा छ । बुटवल–नारायणगढ सडक निर्माणमा ढिलासुस्ती भएको छ । यसलाई खवरदारी गर्नु छ । बुटवल–चन्द्रौटा अब बन्ने सडक समयमा सम्पन्न होस् भन्ने हाम्रो चाहना हो । यो अन्य आयोजनाहरु सम्पन्न हुने चरणमा छन् । अब रुपन्देही विकासमा अब्बल बनेको छ । हाम्रो ध्यान अब मानवीय विकासमा केन्द्रित हुन्छ ।’
रुपन्देही पूर्वाधार विकासँगै शिक्षाको हब बनेको समेत उनले बताए । केही समय अघिसम्म ओझेलमा परेका यहाँका सामुदायिक विद्यालय राष्ट्रमै प्रथम, द्वितीय र तृतीय हुँदै अब्बल बनेको बताउँदै अब भौतिक पूर्वाधार विकासमा कुनै कमी हुन नदिने पौडेलको भनाइ छ । ‘यहाँको कालिका, कान्ति, शान्ति, नवीन, सैनामैनाका विद्यालय केही समयसम्म ओझेलमा थिए’ पौडेलले भने, ‘अहिले यी विद्यालय देशकै विद्यार्थी संख्या, भौतिक पूर्वाधार र नतिजामा पहिलो दोस्रो र तेस्रो र चौथो सम्म पुगे । यही ठाउँमा अब नहरपुर मावि पनि पुग्दैछ । आइतबार पौडेल र भारतीय राजदूत नविन श्रीवास्तवले यो भवनको संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नहरपुर माविलाई आवश्यक स्कुल बस आगामी वर्ष दिने र छात्रवासको योजना अघि बढाउने बताए । उनले हरेक योजना बनाउँदा पूर्ण संचालन हुनसक्नेगरी बजेट राखेर अगाडि बढाउन सुझाए ।
कार्यक्रममा पूर्व मुख्यमन्त्री लिला गिरीले स्थानीय क्षेत्रमा हुने विकास निर्माणको काममा प्रदेशबाट हुने साझेदारीका लागि समन्वय गर्ने बताए ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले नगर सरकारले हरेक विकासका योजना अगाडि बढाउन प्रदेश र संघीय सरकारसँग बसेर योजना बनाउने र बुटवलको व्यवस्थित विकासका लागि अगाडि बढाउने बताए ।
कार्यक्रममा विद्यालयका प्राचार्य धनिश्वर गौतम, नगरपालिकाका योजना प्रमुख सुमन श्रेष्ठलगायतले बोलेका थिए । कार्यक्रममा भारतीय राजदूत नविन श्रीवास्तवलाई सम्मान गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)