बुटवल,फागुन ५ ।
बुटवलमा कपडा बैंकको स्थापना गरिएको छ । बुटवल उपमहानगरपालिकाको समन्वय तथा क्लोथ एण्ड फुड बैंक नेपालको आयोजनामा पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैंकको स्थापना गरिएको हो । महानायक राजेश हमाल संरक्षक रहेको क्लोथ एण्ड फुड बैंक नेपालले बुटवलमा कपडा संकलनको लागि क्लोथ बक्सको स्थापना गरेर सुरुवात गरिएको हो ।
केही दिन अघि बुटवल उपमहानगरपालिका रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपाल बीच क्लोथ बैंक सञ्चालन गर्ने सम्झौता भएको थियो । सम्झौतापछि शनिबार औपचारिक रुपमा बुटवलमा क्लोथ बैंक सञ्चालनमा आएको हो ।बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पुराना कपडालाई रिफाईन गरेर पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैंंकको स्थापना गरिएको बताउनुभयो ।
जनताले अहिले भौतिक मात्र नभएर मानविय विकासको खोजी गर्दै आएको बताउँदै बुटवल उपमहानगरपालिकाले भौतिक विकासमा मात्र नभएर मानवीय विकासको लागि बजेट खर्च गर्दै आएको बताउनुभयो । उपमहानगरपालिकाका उपप्रमुख सावीत्रादेवी अर्यालले बुटवलका ठाउँमा ठाउँमा कपडा संकलन केन्द्रको स्थापना गरेर पुराना कपडा संकलन गर्नको लागि सहयोग गर्न आग्रह गर्नुभयो ।महानायक तथा क्लोथ एण्ड फुड बैंक नेपालका संरक्षक राजेश हमालले नागरिकलाई मौलिक हक प्रदान गर्नु राज्यको अहम भूमिका रहेपनि जनस्तरबाट पनि सहयोग गरिनुपर्ने बताउनु भयो ।
विकसीत देशमा पनि गास,बास,कपास जस्ता मानिसको नैसर्गिक अधिकारलाई सरकार र जनस्तरबाटै सहयोग उठ्न गरेको बताउँदै नेपालमा पनि जनस्तरबाटै सहयोग गर्न सकिने बताउनु भयो । समाजका सक्षम ब्यक्तिहरुले विभिन्न संघसंस्थाको स्थापना गरेर नागरिकलाई मौलिक हक प्रदान गर्नको लागि सहयोग गर्नुपर्ने महानायक हमालले बताउनु भयो ।
क्लोथ एण्ड फुड बैंक नेपालका अध्यक्ष कमल जिसीले देशका २५४ वटा स्थानीय तहमा समन्वयन गरेर कपडा बैंकको स्थापनाको तयारी गरिएको र बुटवलबाट सुरुवात गरिएको जानकारी दिनुभयो ।
पुराना प्रयोगमा नआएका कपडा, जुत्ता, झोला ,किताब संकलन गर्ने र प्रशोधन गरेर आवश्यक ब्यक्तिलाई निःशूल्क रुपमा कपडा दिने उद्देश्यले संस्थाको स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । ७ वटै प्रदेशमा कपडा प्रशोधनको स्वरुम सञ्चालन गर्नै तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी आविश्कार खनालले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)