बुटवल,माघ २८ ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ५ वर्ष सरकारको नेतृत्व गर्न पाए देशमा धेरै परिवर्तन गर्नसक्ने बताएका छन् । शनिबार बुटवलमा आयोजित अन्तर्क्रिरयामा उनले संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताए ।
जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट भएपनि जनताबाट चुनिएर सरकारको नेतृत्वमा जाने कुरामा विमति नभएको बताउँदै किसान र मजदुर वर्गको प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो । उनले अन्य दलहरुसंग एकपटक आफूलाई सरकारको नेतृत्व दिन आग्र्रह गरे । २० औं शताब्दीको वैज्ञानिक समाजवाद पूर्णरुपले सफल हुन नसकेकाले नेपाली विशेषताको समाजवादी व्यवस्थामा जानुपर्ने आफ्नो पार्टीको स्पष्ट लाइन रहेको चन्दले खुलाए ।
दलाल पुँजीवाद र साम्राज्यवादको हस्तक्षेपले मुलुकको राष्ट्रिय स्वाधीनता र अर्थतन्त्र परनिर्भर भएकाले देशलाई स्वाधीन र आत्मनिर्भर बनाउन नेपाली विशेषताको समाजवादमा सबै दल सहमत हुनुपर्ने उनले आग्रह गरे ।अहिलेको व्यवस्थामा अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षा निकाय समेत भ्रष्टाचारमा डुबेको थुप्रै उदाहरण देखिएको र यसको कारण दलाल पुँजीवाद नै भएको चन्दको तर्क छ ।
माओवादीसहित सबैजसो दलका नेताहरु श्रम संस्कारबाट च्यूत भएको भन्दै विदेशमा पुगेर गर्ने जस्तो मेहनत र श्रम देशमै गरे मात्रै मुलुक बन्ने उनले बताए । मन्त्रीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नसके त्यसले समाजवादको आधार खडा गर्ने र नागरिकमा धेरै धन थुपार्ने लोभ कम हुने चन्दले तर्क गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)