Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा- ५ मा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

तिलोत्तमा- ५ मा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

  • 885
    SHARES

  • तिलोत्तमा- ५ मा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

    तिलोत्तमा, माघ २७ ।

    रुपन्देहीको तिलोत्तमामा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । सेवा प्रवाहलाई थप गतिशील बनाउन र स्वास्थ्य सेवामा पहुँच बढाउन करिब दुई लाखको लागतमा तिलोत्तमा वडा–५ का ९ जना स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको हो । 

    नगरप्रमुख रामकृष्ण खाण, वडा–५ का अध्यक्ष रमेश डुम्रे लगायतले साइकल वितरण गर्नुभयो । सो अवसरमा नगर प्रमुख खाणले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान गर्दैआएको र अझै थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको बताउनुभयो ।

    ‘मानव जीवनको आधारभूत आवश्यकता स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्न जरुरी छ’, उहाँले भन्नुभयो, ‘सबै मिलेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्छ ।’ कोरोना महामारी र नियमित खोप अभियानमा पनि स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनीय रहेको भन्दै नगरलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन र बाल तथा मातृ मृत्युदर कम गर्न यस्ता कार्यक्रमले सघाउने बताउनुभयो ।

    स्वयंसेविकालाई स्वास्थ्य सम्बन्धी काम गर्दा सजिलो होस् भनेर साइकल वितरण गरेका हौँ, तिलोत्तमा–५ का वडाध्यक्ष डुम्रेले भन्नुभयो । महिला स्वास्थ्य स्वयंसेविका राधा खनाल रेग्मीले साइकल वितरण आवश्यक रहेको र यसले स्वास्थ्य सेवा प्रवाहमा आफूलाई सजिलो हुने र घर–घरमा पुग्ने बताउनुभयो । 

    कार्यक्रममा तिलोत्तमा–५ का सचिव हरिप्रसाद खतिवडा, वडा–५ का वडासदस्य हरि पन्थ, वडासदस्य धर्मादेवी न्यौपाने, हिरा गिरी, टोल विकासका अध्यक्ष हरिप्रसाद पाण्डे, वडा स्वास्थ्य शाखा प्रमुख गणेश भण्डारी, चुरामणि पाण्डे लगायतले साइकलको सही सदुपयोग गर्दै स्वास्थ्य क्षेत्रमा थप सहज वातावरण निर्माण गर्नु पर्ने बताउनुभयो ।

    महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो क्षेत्रमा स्थायी–अस्थायी परिवार नियोजनबारे परामर्श र सेवा उपलब्ध गराउने, मातृ स्वास्थ्य प्रवर्धन अन्तर्गत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा चार पटक गर्भजाँचका लागि प्रोत्साहन, गर्भवती महिलालाई आइरन चक्की वितरण, स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रोत्साहन, नियमित खोप, महामारीमा खोप अभियान लगायतका काम गर्दैआएको वडासदस्य हरि पन्थले बताउनुभयो ।

    तिलोत्तमा वडा नम्बर–५ द्वारा हेल्प डेस्क’ सञ्चालन :

    तिलोत्तमा वडा नम्बर–५ ले हेल्प डेस्क’ सञ्चालन गरेको छ । सेवाग्राहीहरूको माग र उनीहरूको असहजतालाई सहज रूप दिन र सेवा प्रवाहलाई समेत चुस्त दुरुस्त राख्न सेवा हेल्प डेस्क सञ्चालनमा ल्याएको वडा अध्यक्ष रमेश डुम्रेले बताउनुभयो ।

    सेवाग्राहीलाई अत्यावश्यक सेवा सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको उहाँको भनाइ छ । सो डेस्कबाट सेवाग्राहीले समग्र कामको लागि सहजीकरण निःशुल्क रूपमा पाउने वडा सचिव हरिप्रसाद खतिवडाले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology