बुटवल,माघ २६ ।
रुपन्देहीमा अघोषित विद्युत कटौती (लोडसेडिङ) ले उद्योगमा उत्पादन कार्य ठप्प भएको उद्योगीले गुनासो गरेका छन् । केही समययता विद्युतको समस्या झेल्दै आएका रुपन्देहीका उद्योगी २४ घण्टा नै केही दिनदेखि अघोषित रूपमा लोडसेडिङको मारमा परेको बताए ।
३३ केभिए तथा ११ केभिए औद्योगिक कोरिडोरका उद्योगहरुमा विगत केही दिनदेखि २४ घण्टै अघोषित विद्युत कटौती भइरहेको रुपन्देही उद्योग घंका अध्यक्ष दिलिप सापकोटाले बताए । उद्योगहरुमा भएको अघोषित लोडसेडिङले उद्योगहरुको उत्पादनमा रहेका कच्चा पदार्थ बिग्रेको, बजारमा मालवस्तुको अभाव सिर्जना भइसकेको तथा मूल्यवृद्धि हुने डर रहेको उनले बताए ।
राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उद्योगहरुलाई गुणस्तरीय तथा निरन्तर विद्युत आपूर्तिको तालिका मिलाइ उद्योग सञ्चालनको वातावरण सिर्जना गर्न उनले माग गरे ।
उद्योगमा पटक पटक विद्युत कटौती भएकाले उद्योग सञ्चालन ठप्प रहेको भन्दै नेपाल विद्युत प्राधिकरणको प्रदेश कार्यालयमार्फत प्रणाली सञ्चालन विभाग, विद्युत कार्यालय बुटवल ग्रिड शाखा र वितरण केन्द्र भैरहवा, बुटवल तथा नयाँमिललाई समेत रुपन्देही उद्योग संघले शुक्रबार ध्यानाकर्षण गराएको छ ।उद्योगमा केही समययता दैनिक १२ घण्टासम्म अघोषित रूपमा लोडसेडिङ रहेको उद्योगीहरुको भनाइ छ । जसले उद्योग सञ्चालनमा समस्या आएको उद्योग संघका निवर्तमान अध्यक्ष माधव पौडेलले बताए ।
पन्चकन्या उद्योगका प्रबन्धक देवेन्द्र साहुले प्राधिकरणले विद्युत दिन नसक्ने भए पूरै उद्योग बन्द गर्न तयार रहेको तर यसरी सूचनाबिना कटौती गरेर थला परेका उद्योगीलाई थप हतोत्साहित नबनाउन आग्रह गरे । संघका महासचिव तथा बुटवल औद्योगिक क्षेत्रका उद्योगी हिरामणि भट्टराईले अनियमित विद्युत कटौती गर्ने समस्या आए तत्काल सूचना दिन माग गरे ।
लोडसेडिङ गर्ने भए तालिका बनाएर उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना हुनुपर्ने उनको माग छ । उद्योग सञ्चालन गर्न नपाइने भए लिखित रुपमा जानकारी गराउनुपर्ने उद्योगीको माग छ ।
रुपन्देहीको लुम्बिनी कोरिडोरमा मात्रै २ दर्जन बढी र भैरहवा बुटवल क्षेत्रमा दर्जन बढी उद्योग अहिले बन्द सरहको अवस्थामा पुगेको उद्योगी बताउँछन् । उद्योगी तथा रुपन्देही उद्योग संंघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्योगलिे मागगरेअनुसार तत्काल समय तालिकाअनुसार विद्युत कटौती गर्न र उद्योगीहरुको माग पूरा गर्न आग्रह गरे । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख इं हरिप्रसाद पाण्डेले विद्युत् आपूर्तिमा समस्या भएको कारण उद्योगतर्फ समस्या आएको बताए ।
उनले प्रदेशमा अहिले के कति समस्या भएको हो भनेर केही दिनमा तथ्यांक निकालेर उद्योगीसँग समन्वय गरेर तालिका निकाल्ने बताए । उनले अहिले पानी नपरेर उत्पादन कम भएको, र भारतबाट चाहेजति किन्न नसकिएकाले समस्या भएको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)