बुटवल,माघ २५ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा काठमाडौंमा भएको दुई दिने प्रतियोगितामा एक स्वर्णसहित पाँच पदक हात पार्दै बौद्ध विश्वविद्यालय तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।
देशभरका ११ वटा विश्वविद्यालयका खेलाडी सहभागी रहेको प्रतियोगितामा सय मिटर दौडमा लुम्बिनी बौद्ध विश्वविद्यालयकी अनिसा कुवंर क्षेत्रीले स्वर्ण पदक हासिल गरिन् । अनिसाको स्वर्ण पदक नै बौद्ध विश्वविद्यालयलाई तेस्रो स्थानमा पु¥याउन सफल भयो ।सय मिटर दौडमै रमिता रावतले रजत पदक हासिल गरिन् । रमिताले छात्रतर्फको लङजम्पमा समेत रजत जित्दै व्यक्तिगत पदक संख्यालाई दोब्बर पारिन । पुरुष ब्याडमिन्टनमा अभिषेक थापाले कास्य पदक हात पार्दा पुरुष लङजम्पमा अभिषेक गुप्ताले पनि कास्य पदकमै चित्त बुझाए ।
पहिलो पटक भएको विश्वविद्यालय स्तरीय प्रतियोगितामा खेलाडीले पदक दिलाएर उत्साह थपेको बौद्ध विश्वविद्यालय टिमका टोली नेता लालबहादुर बस्नेतले बताए ।खेल प्रशिक्षक महेश गैरेका अनुसार प्रतियोगितामा विश्वविद्यालयका २८ खेलाडी सहभागी रहेका थिए । भलिवल, ब्याडमिन्टन, टेबल टेनिस र एथलेटिक्स गरी चार बिद्यामा भएको प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय १८ स्वर्णसहित पहिलो, सुदुर पश्चिम विश्वविद्यालय ३ स्वर्णसहित दोस्रो भएका छन् ।
त्रिभुवन, सुदुर, लुम्बिनी बौद्ध र नेपाल संस्कृत बाहेक अन्य विश्वविद्यालय स्वर्णबिहिन रहे । प्रतियोगितामा नेपाल संस्कृत विश्वविद्यालय चौथो, काठमाडौं विश्वविद्यालय पाचौं, गण्डकी विश्वविद्यालय छैठौ स्थानमा रहे । पोखरा, कृषि तथा बन, मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालय क्रमशः सातौं, आठौं, नबौं र दशौं स्थानमा रहेका छन् । प्रतियोगितामा २३ स्वर्ण पदकका लागि प्रतिष्पर्धा भएको थियो ।
खेलकुद परिषद्ले हरेक वर्ष विश्वविद्यालयस्तरीय प्रतियोगिता गर्ने जनाएको छ । आगामी संस्करणका प्रतियोगितामा खेल विधाहरु थपिदै लगिने परिषद्ले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)