बुटवल,माघ २५ ।
अक्सफोर्ड मावि बुटवलमा आजबाट खेल महोत्सव शुरू भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारासहित सिद्देश्वरी खेल मैदानमा भएको खेलको उद्घाटन प्राध्यापक सुमन भुसालले गरे । प्राध्यापक भुसालले अक्सफोर्ड मावि विद्यार्थीहरुको चौतर्फी विकासको लागि लागिरहेको र यस्ता खेलकुदले खेलाडीहरूको क्षमता पहिचान गरि राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।
क्रिकेट क्षेत्रका नक्षत्र कुशल भुर्तेल र देव खनाल एवम् फुटवलमा सरोज दर्लामी र प्रितम कार्की पनि आफ्नै उत्पादन भएकोले अक्सफोर्डले खेलाडि समेत उत्पादन गरेको स्मरण गर्दै प्राध्यापक भुसालले नेपाली खेलाडिको समेत प्रशंसा गरे ।खेल सप्ताहको पहिलो दिन विभिन्न विद्यामा प्रतिस्पर्धा भएको छ ।
छात्र सटपुटतर्फ सरिन घर्ती, रिजन राना, सौगात थापा, छात्रातर्फ किवी राना, आस्था रिजाल, रुस्मा अर्याल प्रथम द्वितीय र तृतीय भएका छन् । १०० मिटर दौड छात्रतर्फ सरोज न्यौपाने, विवस रसाली र युरन राना त्यस्तै ४०० मिटर दौडमा युरन राना, सरोज न्यौपाने,विवश रसाली प्रथम, द्वितीय र तृतीय भएका छन् ।
एकल प्रतिष्पर्धात्मक खेलमा प्रथम हुनेलाई १ महिनाको मासिक शुल्क छुटु गरिदिने समेत संस्थाका प्राचार्य दिनेश भुसालले बताए । खेलकुद महोत्सवलाई सफल पार्न विभिन्न विद्यामा संयोजकहरू तोकिएको छ । जसमा सटपुट संयोजकमा इश्वरी प्रसाद खनाल, १०० र ४०० मिटर दौड संयोजकमा सुमित शर्मा, भलिबल संयोजकमा बिष्णु खनाल, हाई जम्प र लङ्ग जम्प मा गोपाल खरेल, व्याडमिन्टनमा गोकर्ण खरेल, टेबल टेनिसमा कमल न्यौपाने, संयोजक रहेका छन् ।
त्यस बाहेक भलिबल र क्रिकेटका क्वाटर फाइनल खेलहरु सञ्चालन हुदै गरेको खेल व्यवस्थापक राजकुमार पाण्डेले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)