बुटवल,माघ ६ ।
महिला तथा बालबालिकाको उपचारलाइ लक्षित गर्दै रुपन्देहीको तिलोत्तमामा महिला तथा बाल अस्पताल संचालनमा आएको छ । नगरपालिकाको वडा न ४ मा १० करोड रुपिँयाको लगानीमा ओम महिला तथा बाल अस्पताल सञ्चालनमा आएको हो । यो अस्पतालमा महिलाहरुकै लगानी र ब्यबस्थापन रहेको छ ।
सुत्केरी आमाहरु, नवजात शिशु, बालबालिका तथा किशोरकिशोरिका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि अस्पताल स्थापना गरेको अस्पतालका अध्यक्ष शारदा तिवारीले जानकारी दिनुभयो ।
स्थानीय सरकार तिलोतमा नगरपालिकाबाट १५ बेडको स्वीकृति लिई २०७७ साल श्रावण ७ गते शिलान्यास गरिएको अस्पतालले बिस २०८० साल जेष्ठ बाट निःशुल्क सेवा र श्रावणबाट नियमित रुपमा सेवा दिएपनि उद्घाटन भने माघ ७ गते आइतबार हुदैछ ।अस्पतालको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्ने अस्पतालले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
अस्पतालमा २५ जना शेयर सदस्य मध्य २१ जना महिला र ४ जना मात्रै पुरुष रहेको अस्पतालका म्यानेजिङ डाईरेक्टर कमला मल्ल हमालले बताउनुभयो । हाल सम्म १ हजार ७ सय भन्दा बढीले अस्पतालबाट सेवा लिई सकेको,१५० जनाको अप्रेसन,६० जनाको सुरक्षित प्रसुति गराइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शर्मिला शर्माले बताउनुभयो ।‘हामीले यस अस्पतालवाट सुलभ, सुपथ र गुणस्तरिय सेवा दिन थालेका छौं,तिलोत्तमाका नागरिकलाइ बिशेष छुट र निशुल्क एम्बुलेन्स सेवा दिएका छौँ,सबैको माया पाएका छौँ । ’शर्माको भनाइ छ ।
तिलोत्तमा नगरपालिकाका भित्रकालाई एम्बुलेन्स निशुल्क र नगरका क्षेत्रलाइ शुभारम्भको अवसरमा १०–२० प्रतिशत समेत छुट प्रदान भईरहेको उहाँको भनाइ छ ।
अस्पतालमा वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञहरू प्रायश्चित श्रेष्ठ, डा. शर्मिला शर्मा, डा. विष्णु गौतम, डा. अनुपा थापा र डा.दृष्टि पौडेल ,बारिष्ठ बाल रोग विशेषज्ञ तथा सर्जन डा. गोपाल गुप्ता, बाल रोग विशेषज्ञ डा. किरण सुवेदी, डा. सुन्दर न्यौपाने, डा. अनिल खनाल र वरिष्ठ रेडियोलोजिष्ट डा. विजय घिमिरेले सेवा प्रदान गर्ने डा. शर्माले बताउनुभयो ।
अस्पताल महिला तथा बालबालिकालाइ लक्षित गरि बनाइएको र मुख्य गरि यस स्पतालमा प्रसुति सम्बन्धि सम्पूर्ण सेवा, खोप,एनआईसियु ओपिडी, २४ सै घण्टा इमर्जेन्सी अप्रेसन सेवा, २४ सै घण्टा इमर्जेन्सी, औसधि पसल, २४ सै घण्टा प्रयोगशाला सेवा २४ सै घण्टा जनरल बेड र क्याविनहरुको सेवा सन्चालनमा रहेको अध्यक्ष शारदा तिवारीको भनाइ छ ।उहाँले अहिले १५ वेड सन्चालनमा रहको र निकट भविष्यमा १ सय बेड सम्म सञ्चालन गर्ने लक्ष्य अस्पतालको रहेको बताउनुभयो ।
अस्पतालमा रहेका उपकरणहरु जस्तै सम्पूण प्रयोगशाला ओ.टी सेट अप, एक्स–रे सेवा, अल्ट्रासाउण्ड सेवा, गाइने सेवा भ्यान्टिनेटर सहितको एनआइसियु सेवा संगै र दुरबिन द्वारा गरिने सल्यक्रिया सेवाहरु पनि उपलब्ध रहेको अस्पतालले जनाएको छ । यहाँ ६५ जना कर्मचारीहरु कार्यरत रहेका छन् । स्थानीय क्या एम बहादुर खत्रीले आफ्नो जग्गामा अस्पताल चलाउन र स्थापनाका लागि पहल गर्नुभएको सञ्चालक महेन्द्र हमालले बताउनुभयो ।
महिला तथा बालबालिकाको क्षेत्रमा मात्रै काम गर्ने र महिलाहरुले नै चलाएको अस्पतालमा दैनिक २ सयको हाराहारीमा बिरामीहरु आउने गरेको संचालक उमा अर्यालले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)