बुटवल,माघ ३ ।
बुटवल ११ नहरपुरमा रहेको ज्ञानपुञ्जबोर्डिङ स्कुलमा खेल सप्ताह सुरु भएको छ । बिद्यालयको २१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको पूर्वसन्ध्यामा आयोजित खेलकुद सप्ताहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम ढकालको अध्यक्षतामा प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले खेलकुदले विद्यार्थीको पढाईसंगै चौतर्फी विकास हुने बताए । उनले शिक्षासंगै अतिरिक्त क्रियाकलापले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन हुने बताए । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा विद्यालयका प्राचार्य तोयाराम पौडेलले बोल्दै ज्ञानपुञ्जले हरेक विद्यार्थीको लागि शिक्षा र खेलकुदलाई प्राथमिकताका साथ राखेको बताउँदै बिद्यालयको बार्षिक उत्सव तथा अभिभावक दिवसको पूर्व सन्ध्यामा हरेक वर्ष खेल सप्ताह गरिएको बताए ।
उद्घाटन सत्रको सुरुको खेलमा प्रमुख अतिथिबाट रसि तानेर समुदघाटन गरिएको छ भने उदघाटनका दिन बेलुन रेस, स्वीट रेस र स्पोन रेस खेलहरु सम्पन्न भएको छ । पहिलो चरणमा माघ ३ देखि ७ गतेसम्म प्री प्राइमरी अर्थात् मन्टेश्वरी देखि कक्षा ६ सम्मका विद्यार्थीहरुले बोटल गेम, निडल गेम, अनलक्की सेभेन, म्याथ रेस, थ्रो बल, कबदडी , १ सय र २ सय मीटरसम्मको रेसलगायतका कार्यक्रमहरु हुनेछन् ।
त्यस्तैगरी दोस्रो चरणको खेल माघ ७ देखि १० गतेसम्म कक्षा ७ देखि १२ कक्षाका विद्यार्थीहरु खेलमा सहभागी हुनेछन् । टग बार, भलिबल , कबड्डी, खोखो, सर्टपुट, २ सय, ४ सय मिटरको रेस, रिले रेस, ज्याब्लीङ थ्रो, हाइजम्प, लङजम्प, चेस र ब्याडमिन्टनलगायतका खेलहरु हुनेछन् ।
उक्त खेलमा विजेता विद्यार्थीहरुलाई माघ ११ गते पुरस्कार वितरण गरिनेछ । माघ १२ गते बिद्यालयको २१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रम गरी समापन गरिनेछ । विद्यालयका सहप्राचार्य हिमलाल न्यौपानेको स्वागत मन्तव्यमा कार्यक्रमको सन्चालन इसीए कोर्डिनेटर हरिप्रसाद भट्टराईले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)